मलाई देखेर हरिया डाँडा खुशीले हाँसे,
चिसो बतासले मेरो हात समायो
आँगनको गुन्द्रीमा बसाल्यो
अँजुलीभरि पानी बोकेर
तीनधारेले मेरो स्वागत गर्‍यो,
कति मिठो अमृतजस्तो पानी!
मैले स्वाद भुलेको थिइन,
न त पहाडले नै मलाई भुलेको थियो।

“कस्तो छ तिमीलाई?”
मैले जीर्ण भइसकेको घरलाई सोधेँ,
पाखाबारी र घर मलाई अँगालो हालेर रोए,
सुँक्क गर्दै भने, “यी हर्षका आँसु हुन्।”
बारीभरि अम्लिसो र अलैँचीका बुटाहरू
मलाई भेट्न आतुर थिए,
सुन्तलाका रुखहरु
रसिलो स्वाद चखाउन तम्तयार थिए।

मैले देखेँ,
यो पहाडमा बाँझा खेतहरू रुँघेर
उत्तिस र चिलाउनेका रुख गोठाला बसेका छन्,
भेँडीगोठका दाइहरू
अहिले समुद्रपारि  उँट धपाउँछन्,
बारीमा पटुका कस्ने दिदीहरू
पानीजहाजमा पार्टपुर्जा कस्न अर्कै क्षितिजतिर लागेका छन्,
यो पहाडलाई शून्यताले पनि कति गाँज्दो हो!
डाँडा र खोल्सी एकअर्कालाई ढाडस दिँदै बसेका छन्।

भोजपुरको षडानन्द नगरपालिकाको साङपाङबाट देखिएको सूर्योदय। तस्बिर: डा. खगेन्द्र दाहाल

हुन पनि यो पहाडमा अभाव केहीको छैन
स्वच्छ हावा, मलिलो माटो, सरल आत्माहरू
अभाव त शीतल सफा हावा खानेको मात्रै हो,
अभाव बारीको सुन्तला र अम्बा टिप्नेहरुको मात्रै हो,
भटभटेको आवाज आयो भने
मान्छेको कल्याङमल्याङ सुनियो भने
कम्ती खुशी हुँदैन यो पहाड।

म पहाडबाट फिर्दै गर्दा
“बाटोमा खानू है” भनेर
पहाडले मलाई एक पाथी मायाको कोसेली हाल्दियो
र, म पर पुगुन्जेल
एकटकले आँसु टिल्पिलाएर हेरिरह्यो।

१/२६/२४
एल्कहोर्न, नेब्रास्का, अमेरिका

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्