पूर्वराजालाई माधव नेपालको सुझावः‘प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिनुस्’

फाइल फोटो।

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए। उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गरे।

उनले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए।
उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताए। उनले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको आरोप लगाए।

उनले भने,‘अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरुले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ। त्यसको सामना गर्ने हो । राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन । राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको, न खाजे, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने? यस्तो स्थिति थियो।’

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे।

अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको बताए। उनले असन्तुष्ट मात्रै भएर पनि समस्या समाधान नहुने बताउनु बताए।

उनले भने,‘हामी हाम्रो पार्टी,हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ। अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ। तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन। असन्तुष्टि समस्याको समाधान होइन। समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो। समस्याका कारण पत्ता लगाउनुपर्छ। खोजि गर्नुपर्छ। त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ। हामीले दिएको समाधानले स्थितिमा परिवर्तन गर्छ की गर्दैन, हाम्रो मुलुक अघि बढाउन त्यसले सहयोग पुग्छ की पुग्दैन।’

अध्यक्ष नेपालले विश्वविद्यालयहरुमा विद्यार्थीहरु कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको बताए।

 

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्