सत्तारुढ गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म मात्रै होःओली

फाइल फोटो।

काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको ओलीको आरोप थियो। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तामा अडिनेबाहेक अरु कुनै राजनीति नगरेको जिकिर गरे।

देशका निम्ति केही गर्ने भन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको ओलीले बताए। उनले सरकारले दिगो विकास लक्ष्य विपरित रेमिटयान्सको भर परेर देश चलाउने सोच लिइरहेको समेत बताए। ओलीले सरकारले जाजरकोटलगायतका क्षेत्रमा भूकम्प पीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।

उनले भने,‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भईराखेका छन । उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरु केही हुन सक्दैन । कथमकदाचित कुनै हिसावले यदी कुनै दिन रेमिटयान्स बन्द भयो भने रेमिटयान्स नआउने कोभिड जस्तै केही चिज भइदियो भने रिजनल अशान्ति केही सानोतिनो भइदियो भने यो सबै कुरा समाप्त हुन्छ । अस्तव्यस्त हुन्छ । त्यसो भएर त्यो अवस्थामा हामी के गर्छौं?’

अध्यक्ष ओलीले सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको बताए।

 

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्