राजनीतिक दलमा भएकै कारण कसैले दुई वटा नागरिकता बनाए पनि छुट पाएका छन्ः गगन थापा

वीरगञ्ज – कांग्रेस महामन्त्री गगनकुमार थापाले राजनीतिक दल जिम्मेवारीमा भएकै कारणले कसैले दुईवटा नागरिकता बनाए पनि छुट पाएको बताएका छन्।

वीरगञ्जबाट प्रकाशन हुने अंकुश दैनिक पत्रिकाको शनिबार वीरगञ्जमा आयोजित रजत समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।आम नागरिकले नागरिकतामा किर्ते गरे भने कहाँ पुग्छ भन्ने प्रश्न गर्दै थापाले राजनीतिक दलमा आबद्ध भई उक्त दलका नेता गठबन्धन दलमा बस्ने हैसियत राखेकै कारण कसैले दुई वटा नागरिकतासम्म बनाउने छुट पाएको बताए।

‘एउटा कुनै ब्यक्तिले नागरिकतामा किर्ते गरे भने त्यो नागरिकतामा गल्ती गरेको ब्यक्ति कहाँ पुग्छ,’ उनले प्रश्न गरे, ‘तर कुनै राजनीतिक दलमा छ, कुनै जिम्मेवारीमा छ, त्यो राजनीतिक दल अहिले माथिचाहिँ गठबन्धन दलका बैठकमा बस्ने हैसियत राख्छन् भन्ने कारणले गर्दा कोही कसैले दुईटा नागरिकता बनाए पनि छुट पाएको छ।’

कसैले पनि नक्कली नागरिकता बनाउन छुट दिए सञ्चार माध्यमले छाड्दैन भन्ने कुरामा डर हुनुपर्ने जिकिर महामन्त्री थापाको थियो।पार्टीको शुद्धीकरणका लागि आफ्नै दलभित्र रहेर कामसँगै पार्टीसितै लडिरहेको बताए। कांग्रेसमा लागेका युवा शक्तिले देशका थुप्रै गाउँमा राम्रो काम गरेको आफूले देखेको बताउदै महामन्त्री थापाले युवा शक्तिले पार्टीमा गरेको योगदान प्रशंसनीय रहेको पनि बताए।

जिम्मेवारीमा बसेको ताकतवर पहुँच र राजनीतिक दलमा बसेकै कारण कसैले पनि कुनै प्रकारको छुट पाउन नसक्ने कुरामा उनको जोड थियो।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्