‘विराट गोल्डकपको गरिमा खस्कियो’

मोरङ – विराट गोल्डकप ट्रष्टले नयाँ नेतृत्व चयन गरिरहँदा फुटबल प्रेमीहरुले गोल्डकपले गरिमा गुमाउँदै गएको बताएका छन्।
उद्योगी तथा विराट गोल्डकपका पूर्वसंयोजक राजेन्द्र राउतले शनिबार ट्रष्टको अधिवेशनमा बोल्दै विराटनगरको पहिचान बाकेको गोल्डकप पछिल्लो समय छिमेकी जिल्लामा हुने फुटबल प्रतियोगिताभन्दा पछि पर्दै गएको बताए।

किशोरबहादुर शाहीले ट्रष्टको नयाँ नेतृत्व लिइरहँदा उद्योगी राउतले ट्रष्टका पदाधिकारी, फुटबल खेलाडी र दातृ निकायबीचको समन्वय र एकता नहुँदा गोल्डकपको गरिमा खस्किदै गएको बताएका हुन्। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसमेत रहेका राउतले नयाँ कार्यसमितिमा जिम्मेवारीसँगै प्रतियोगिता गराउनका लागि प्राथमिकता दिनुपर्ने बताए।

उनले भने, ‘नयाँ कार्यसमितिले बाहिरबाट बजेट खोजेर प्रतियोगिता गराउने होइन। यो कार्यसमितिको अध्यक्षको हैसियतले संयोजक भएर प्रतियोगिता गराउनु पर्‍यो। कार्यसमितिले बाहिरको मुख हेरेर प्रतियोगिता गराउने होइन, आफै प्रतियोगिता गराउन सक्षम हुनुपर्‍यो।’

ट्रष्टले प्रतियोगिता गराउनुपर्नेमा जोड दिँदै अध्यक्ष राउतले भने, ‘ट्रष्टले प्रतियोगितासँगै एउटा एकेडेमी सञ्चालनमा ल्याउनुपर्ने हो। खै यहाँ एकेडेमी? हामी अझै पनि यही नाम बेचेर खाने?’

त्यसैगरि, ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले विराट गोल्डकपका लागि विराटनगरवासीले साथ दिएको बताए। उनले भने, ‘गोल्डकप कुन अवस्थाबाट अघि बढाएका हौँ, सबैलाई थाहा छ। गोल्डकपलाई यहाँसम्म ल्याउन तपाईहरुको पनि योगदान छ। अहिले ठूलो कुरा गर्छन्, नयाँ आउनेहरुले। काम पनि गर्छन्, ठूलो कुरा पनि।’

युवा समूहको भविष्य अझै कायम रहेको उनले बताए। बानियाँले राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य किरण गिरीलाई समेत गोल्डकपमा भविष्य भएको हुँदा अहिले नै हतास नहुन आग्रह गरेका थिए। गोल्डकप गराइरहँदा मन्त्रीदेखि पार्टीहरुले समेत हस्तक्षेप गरेको गुनासो गरे।

उनले भने, ‘राजनीतिक दलले समेत गोल्डकप गराउँदा हस्तक्षेप गरेको छ। राजेन्द्र राउत, नवीन रिजाल, मनोजविक्रम शाहलाई गोल्डकपको संयोजक बनाउँदा मलाई पार्टीले उभ्याएको छ। मन्त्रीलाई स्पस्टीकरण दिनुपरेको छ। यति भनिरहँदा फेरि पनि भन्छु, उद्योगी ब्यापारीविना गोल्डकप हुन सक्दैन।’

अधिवेशनले आगामी कार्यकालका लागि किशोरबहादुर शाहीलाई अध्यक्षमा चयन गरेको छ। त्यसैगरि, उपाध्यक्ष किशोर तिम्सिना, महासचिव विनेश बस्नेत, कोषाध्यक्ष अनुज बानियाँ, सचिवमा ध्रुव सिग्देललाई सर्वसम्मत चयन गरेको छ। त्यसैगरि, सहकोषाध्यक्षमा विमल राजभण्डारी, सदस्यमा मधुसुदन खनाल, कुमार महर्जन, राजेश हमाल, धनकुमार लामा र शंकर खरेल रहेका छन्। अधिवेशनले किरण गिरी, अरुण लामा र मदन काफ्लेलाई सदस्यमा मनोनीत गरेको छ।

अझै अरुकै भर


महेन्द्र गोल्डकपपछि २०६७ सालमा विधान संशोधन गर्दै २०६७ सालमा विराट गोल्डकप ट्रष्ट गठन भएको हो। सो ट्रष्टले २०६७/०६७ मा भीम कुवँरलाई गोल्डकपको जिम्मेवारी दिएको थियो। पहिलो संस्करणमा हिमालयन शेर्पा र दोस्रो संस्करणमा संकटा क्लब काठमाडौँले उपाधि जितेको थियो।

पहिलो संस्करणमा मध्यम नाफा भए पनि गोल्डकपको दोस्रो संस्करणमा भने संयोजक कुवँर असफल भए। सो संस्करण असफल हुनुमा ट्रष्टिजभित्रका पदाधिकारीकै शिकार भएको गुनासो उनको छ। त्यसैगरि, २०७० सालमा भने ट्रष्टभित्रको विवादले गोल्डकप हुन सकेन। यद्यपि, ट्रष्टका तत्कालीन अध्यक्ष शिवभक्त जोशीको आग्रहमा २०७१ सालमा ट्रष्टले उद्योगी राजेन्द्र राउतलाई गोल्डकपको अभिभारा सुम्पिएको थियो।

०७१ साल सम्पन्न तेस्रो संस्करणलाई नाफामा पुर्‍याएका राउतले ०७२ सालमा समेत संयोजकको भूमिका निर्वाह गर्दै फुटबललाई उर्जा दिलाए। यसपछि ट्रष्टको कार्यसमितिबाट गोल्डकप गराउने सम्भावना कम हुँदै गयो। दुई पटक सफलतापूर्वक गोल्डकप संयोजन गरेका राउतले त्यसपछि अघि बढ्ने जनाएपछि गोल्डकप रोकिन पुग्यो।

राउतको अनुपस्थिति, आन्तरिक किचलो र ट्रष्ट समिति बाहिरबाट प्रतियोगिता गराउन संयोजक नभेटाउँदा २०७३/०७४ सालमा गोल्डकप हुन सकेन। २०७५ सालमा भने, उद्योगी नवीन रिजालको संयोजकत्वमा मोफसलमा पहिलो पटक दिवारात्री प्रतियोगिता आयोजना भयो। गोल्डकपको पाँचौ संस्करणलाई पहिलो पटक अस्थायी फ्लडलाइट्सको भरमा रातिको समय खेल गराइयो। त्यसपछि दुई वर्ष कोरोना महामारीका कारण गोल्डकप अघि बढ्न सकेन।

२०७७ सालमा गोल्डकपको छैटौँ ट्रष्टका सदस्य तथा उद्योगी मनोजविक्रम शाहले अघि बढाए। कोरोना महामारीको चुनौतीसँगै शाहले समेत सफलतापूर्वक ट्रष्टलाई नाफामा पुर्‍याए। त्यसपछि सातौ संस्करणमा विराटनगर महानगर प्रमुख नागेश कोइरालाले गोल्डकपको गरिमालाई निरन्तरता दिएका थिए।

यसक्रममा ट्रष्टले आफै प्रतियोगिता गराउने उद्देश्य राखे पनि त्यो सम्भव देखिएको छैन। यद्यपि, नयाँ कार्यसमितिलाई आउँदो केही महिनाभित्र गोल्डकपको आठौं संस्करण आयोजना गर्नुपर्ने चुनौती छ।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्