दिनभरिका १० मुख्य समाचार

बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार भएको बताएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँगको बयानमा चौधरीले यस्तो बताएका चौधरी हाल सिआइबीको नियन्त्रणमा छन्। काठमाडौं जिल्ला अदालतले व्यवसायी चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

000

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्। डीआईजी चन्दले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको देश सञ्चारलाई बताए। उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहे पनि उनले राजीनामा दिएका हुन्।

000

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन्। उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठको भनाई छ।

000

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन्। मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिरसमेत गरे। उनले रेमिटयान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भए पनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको आरोप पनि लगाए।

000

कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दल जिम्मेवारीमा भएकै कारणले कसैले दुईवटा नागरिकता बनाए पनि छुट पाएको बताएका छन्। आम नागरिकले नागरिकतामा किर्ते गरे भने कहाँ पुग्छ भन्ने प्रश्न गर्दै थापाले राजनीतिक दलमा आबद्ध भई उक्त दलका नेता गठबन्धन दलमा बस्ने हैसियत राखेकै कारण दुई वटा नागरिकतासम्म बनाउने छुट पाएको बताए।

000

काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ।

000

राजसंस्था पक्षधरहरुले नारायणहिटी दरबारअगाडि प्रदर्शन गरेका छन्। हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै शनिबार दिउँसो नारायणहिटीअगाडि प्रदर्शन भएको हो। प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतको सहभागिता थियो।

000

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाध विभागीय क्लब नेपाल पुलिसले जितेको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा पुलिसले अर्को विभागीय क्लब आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। पुलिसले प्रतियोगितामा एउटा पनि खेल नहारी उपाधि जितेको हो।

000

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीले ३–० को गोलअन्तरले थ्रीस्टार क्लबलाई पराजित गर्दै उपाधी जितेको हो।

000

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले आफू ज्यूँदै रहेको बताएकी छन्। शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै उनले जनचेतनाका लागि आफैले मृत्युको खबर फैलाएको बताएकी हुन्। शुक्रबार पाठेघरको मुखको क्यान्सरका कारण ३२ वर्षीया पाण्डेको निधन भएको खबर उनकै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

माघ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्