संघीयताको अनुभूति हुनेगरी काम गरिरहेका छौंः सभामुख घर्ती

दाङ- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शून्य संरचनाबाट सुरु भएको लुम्बिनी प्रदेशसभा र सरकारले तीव्र गतिका साथ काम थालेको बताएका छन्।

प्रदेश स्थापना दिवसको अवसरमा सभामुख घर्तीले शुभकामना सन्देश जारी गर्दै प्रदेशको लागी आवश्यक कानुन निर्माण भइसकेको, जनताले प्रदेशलाई नजिकबाट बुझ्ने, देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भइरहेको जनाएका छन्।

प्रदेशसभाले प्रदेश सञ्चालनको लागि अत्यावश्यक कानुन निर्माण गरी कार्यान्वयन प्रक्रियामा रहेको, प्रदेशसभा र सरकारलाई जनमुखी, जिम्मेवार, प्रभावशाली र मर्यादित बनाई वास्तवमै संघीयताको अनुभूति हुने गरी काम गर्न प्रयन्तशील रहेको जनाएका छन्।

‘यद्यपि एक्लो प्रयासले सबै कुरा सम्भव हुन नसक्ने कुरा सबैलाई विदितै छ। संघीयता कार्यान्वयनको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच एक आपसमा समझदारी र सहकार्य जरुरी छ,’ उनले भनेका छन्, ‘साझा अधिकारको सम्बन्धमा अझै स्पष्टता र कानुन निर्माणको सन्दर्भमा संघीय सरकारले सहजीकरण गर्नु पर्ने छ। संघ प्रदेश र स्थानीय तह समन्वय र सहकार्य सम्बन्धि ऐन कार्यान्वयनमा आइरहेको छ।’

भौतिक संरचनाका अभावका बीच सभा र सरकारले सेवा स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) प्रारम्भ गर्नु पनि उपलब्धीको विषय रहेको उल्लेख गरेका छन्।

संघीयताको खास मर्म, भावना र उदेश्यलाई परिपूर्ति गर्न सक्नुपर्ने बताएका छन्। सरकारको कार्य सापेक्षित रूपमा प्रभावकारी देखिए पनि अझै जनमुखी, जनउत्तरदायी र विश्वसनीय बनाउनु पर्ने उल्लेख गरेका छन्।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्