प्रदेश अधिकारकै लडाइँमा लाग्नु परिरहेको छः मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी। फाइल तस्बिर।

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार संस्थागत हुने प्रयासमा रहेको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश छैटौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा प्रदेशबासीहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले प्रदेश अझै संस्थागत हुने प्रयासमा रहेको जानकारी दिए।

‘प्रदेशमा आउनुपर्ने अधिकारहरू संघमा नै रहेका छन्। यसले गर्दा प्रदेश अधिकारकै लडाइँमा लाग्नु परिरहेको छ, ’ उनको शुभकामना सन्देशमा भनिएको छ, ‘यो अवस्थाको अन्त्य हुनुपर्छ। प्रदेश स्थापना दिवसको सबैमा शुभकामना।’

प्रदेशलाई सुशासनयुक्त, समृद्ध, अधिकार सम्पन्न, विकासले सम्पन्न प्रदेश बनाउने लक्ष्य राखिएको उनको भनाइ छ। समृद्ध प्रदेशको रोडम्याप सरकारले तयार गरिसकेको जानकारी दिँदै सबै विशेषतासँग प्रदेशलाई जोड्न सफल भएको बताएका छन्।

बितेका अवधिमा आबश्यक ऐन, कानुन, नियमावली, कार्यविधिहरु निर्माण गरिएको, कर्मचारीको सुव्यवस्थाका लागि प्रदेश निजामती सेवा ऐन स्वीकृत भई कार्यान्वयनमा रहेको, संगठनात्मक स्वरूप, दरबन्दी र जनशक्ति व्यवस्थापन गरिएको, प्रदेश निजामती सेवा नियमावली मस्यौदा तयार भई स्वीकृतिका प्रक्रियामा रहेको, स्थानीय सेवा ऐनको मस्यौदा तयार भएको, शासकीय प्रवन्ध र सुधारतर्फ मन्त्रालयको संख्या घटाइएको, कार्य सम्पादनमा मितव्ययिता र प्रभावकारीताका लागि प्रयासहरू गरिएको उल्लेख गरेका छन्।

चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमार्फत् प्रदेशवासीको आयआर्जन वृद्धि गर्दै जीवनस्तरमा सुधारका क्रियाकलाप र कार्यक्रममा जोड दिइएको, नियमनकारी निकायहरूबाट पठाइएका र उठाइएका विषयमा तत्काल कारवाहीका प्रक्रिया अगाडि बढाइएको, राष्ट्रिय समन्वय परिषद् बैठकमा सहभागी भई प्रदेशका कामकारवाही र समन्वयका विषयमा जानकारी गराइएको, स्थानीय तहसँग समन्वयका विषयहरूमा अन्तक्रिया गरिएको र आवश्यक सहजीकरणका लागि राष्ट्रिय समन्वय परिषदमा पठाइएको, शिक्षाको गुणस्तर सुधार र पहुँच वृद्धिका लागि स्थानीय तहमा शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको, स्थानीय स्तरमा रोजगार सिर्जना र स्थानीय स्रोत साधनको उपयाेग गरी आय आर्जन गर्न मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालनमा ल्याइएको पनि उल्लेख गरिएको छ।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्