एसियन कपमा सेमिफाइनल समीकरण पुरा, जापान इरानसँग हार्दा कतारले उज्वेकिस्तानलाई हरायो

एसियन कप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार भएको क्वाटरफाइनलका अन्तिम खेलमा कतारले उज्वेकिस्तान तथा इरानले जापानलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। अब इरानले कतारसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा जोर्डन र कोरिया सेमिफाइनलमा भिड्नेछन्।

जापानले इरान विरुद्ध २८ औं मिनेटमा हिडेमासा मोरिटाको गोलमार्फत् अग्रता लिए पनि अन्तिम मिनेटको गोलमा इरान विजयी भएको थियो। ५५ औं मिनेटमा इरानले खेलमा बराबरी गोल गर्‍याे। सरदार आजमुनको असिस्टमा मोहम्मद मोहेबिले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

१-१ कै अवस्थामा अतिरिक्त समयमा धकेलिएको खेलमा इन्ज्युरी समयमा इरानले पेनाल्टीमार्फत् खेलमा अग्रता बनायो। को इटाकुराले बक्स भित्र फाउल गरेपछि इरानले इन्जुरी समयको छैटौं मिनेटमा पेनाल्टी पाएको थियो। पेनाल्टीमा अलिरेजा जाहानबक्सले टिमका लागि निर्णायक गोल गरे।

त्यस्तै, शनिबार नै भएको खेलमा कतारले उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। २७ औं मिनेटमा उज्वेकिस्तानका गोलरक्षक उतकिर युसुपोभले हसन अल हायोदोक क्रसलाई क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा कतारले अग्रता बनाएको थियो।

तर ५९ औं मिनेटमा ओडिल्जोन हाम्रोबेकोभको गोलमा उज्वेकिस्तानले बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित तथा अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल पेनाल्टीमा धकेलियो। जहाँ कतारले ३-२ ले खेल आफ्नो पक्षमा पार्‍याे।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्