नेपालमा क्यान्सर उपचारमा ‘कार-टी सेल थेरापी’ को सफल प्रयोगशाला परीक्षण

काठमाडौं- क्यान्सर उपचारमा हाल शल्यक्रिया, केमोथेरापी र रेडियसन थेरापी आदि विधि मुख्य रुपमा प्रयोगमा छन्। ती विधिमार्फत् पछिल्ला केही दशकमा क्यान्सर उपचारमा उल्लेख्य उपलब्धि हासिल भएपनि अपेक्षित सफलता प्राप्त भइसकेको छैन।

तर, बायोथेरापीको उदयले पछिल्लो समय क्यान्सर उपचारमा नयाँ मानक स्थापना गरेको छ। बायोथेरापीमध्ये पनि कार–टी सेल थेरापी (Car-T Therapy) को प्रभावकारिता खासगरी रक्त क्यान्सर उपचारमा निकै प्रभावकारी देखिएको छ। अमेरिकाको न्यासनल क्यान्सर इन्स्टिच्युट (National Cancer Institute/NCI) र पेन्सिलभेनिया विश्वविद्यालय (University of Pennsylvania) मा गरिएको कार–टी सेल थेरापीको अध्ययनमा ९० प्रतिशतभन्दा बढी ‘बि सेल’ क्यान्सर बिरामी पूर्ण रूपमा निको भएको पाइएको छ।

हालसम्म विकसित मुलुकमा सीमित कार–टी सेल थेरापीलाई नेपालमा समेत प्रयोगमा ल्याउनका लागि सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (CRM Nepal) को स्थापना भएको हो। सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले हालसम्म संयुक्त राज्य अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (USFDA) बाट प्रमाणित सिडी- १९ (CD-19 CAR) को प्रयोगशालामा कार–टी सेलको सफलतापूर्वक परीक्षण गरेको छ।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको CD-19 (कार–टी सेल स्वीस औषधि निर्माता नोभार्टिस (NOVARTIS) र गिलियाड (Gilead) को कार–टी सेल जत्तिकै प्रभावकारी देखिएको छ।

अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा प्रथम पटक भएको हो। प्रयोगशालामा सफल कार–टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको छ।

कार–टी सेल एक विशेष उपचार पद्धति हो, जसको प्रयोग एएलएल (ALL) र एनएचएल (NHL) क्यान्सर बिरामीहरूमा निकै प्रभावकारी रहेको बताउँछन् अमेरिकाकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागका डा. सञ्जीवन गौतम। सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालका सल्लाहकार रहेका गौतमका अनुसार नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सक्नु देशकै लागि ठूलो अवसर हो।

‘यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महङ्गा र जटिल प्रविधियुक्त हुन्छन्। तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने कार–टी सेल थेरापीलाई दश गुणा कम लागतमा उपलब्ध गराउने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको छ,’ गौतमले भने।

डा. सञ्जीवन गौतम।

रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको यो उपचार पद्दति नेपाल प्रयोगमा ल्याउँदा बर्सेनि एक सय जना भन्दा बढी बिरामी लाभान्वित हुने प्रक्षेपण रहेको बताउँछिन् वीर अस्पतालकी उप-प्राध्यापक डा. रमिला शिल्पकार। शिल्पकारका अनुसार यो पद्धति विस्तारै अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा छ।

वीर हस्पिटलका वरिष्ठ कलेजोरोज विशेषज्ञ प्रा. डा. सुधांशु केसीका अनुसार कार-टी सेल थेरापी क्यान्सर मात्र नभै कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटु सम्बन्धी रोगहरुमा पनि प्रभावकारी देखिएको छ।

कार-टी सेल थेरापीले अबका केही वर्षमा नै उपचार पद्दतिमा महत्त्वपूर्ण हिस्सा ओगट्ने बेलायतको केभेन्ट्री विश्वविद्यालयका डा. ओम कुर्मी बताउँछन्। नेपालमा यसका चुनौतीमध्ये रोगी र चिकित्सकहरुलाई यसबारे पर्याप्त जानकारी नहुनु हो। सरकारी संयन्त्र, जनमानस र चिकित्सकहरुलाई यो पद्धतिबारे जानकारी दिन गत वर्ष काठमाडौंमा एक अन्तर्राष्ट्रिय सम्मेलन समेत गरिएको थियो।

‘औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्जस्ता निकायले कार–टी सेल नेपाल ल्याउनका लागि ऐन नियमहरूको व्यवस्थातर्फ काम गर्न आवश्यक छ’, उनले भने।

आनुवंशिकी वैज्ञानिक बलराम गौतमका अनुसार कार–टी सेल प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट ‘फ्रिजिङ कण्डिसन’ मा आयात गर्नुपर्ने हुँदा महङ्गो पर्ने र ढुवानीमा जटिलता आउनेजस्ता समस्या छन्। ‘यसमा सरकारको सहजीकरण आवश्यक हुन्छ,’ उनी भन्छन्।

हालसम्म अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ६ वटा कार–टी सेललाई मान्यता दिएको छ। सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले यी मान्यता प्राप्त कार–टी सेललाई औषधि व्यवस्था विभागको स्वीकृतिमार्फत नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको छ। अमेरिकी, जर्मन र ब्राजिली संस्थाहरूसँगको सहकार्य र सहयोगबाट कार–टी सेललाई दश गुणा कम खर्चमा नेपालमै उत्पादन गर्ने उद्देश्य रहेको डा. सञ्जीवन गौतम बताउँछन्।

गौतमका अनुसार रगत बाहेकको अन्य क्यान्सरमा कार–टी सेलको प्रभावकारिता बढाउन पेम्ब्रोलिजुम्याब (Pembrolizumab) तथा निभोलुम्याब (Nivolumab) मिश्रित थेरापीको प्रयोग गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन्। यी सुविधा नेपालमा ल्याउन सकिने सम्भावना रहेको उनी बताउँछन्। ‘यो पद्धति विकासका लागि जनशक्ति तयार गर्न तालिमका लागि विकसित मुलुकमा व्यवस्था मिलाउँदै छौं,’ गौतम भन्छन्।

नेपाली प्रयोगशालामा पहिलो पटक सफल परीक्षण गरिएको कार–टी सेललाई मानव प्रयोगमा ल्याउन अझै एक वर्ष यसमा संलग्न वैज्ञानिकहरुको प्रक्षेपण छ।

यो परीक्षणमा ‘हेल्दी डोनर’ का टी-सेल (T-Cell) हरूलाई ५० प्रतिशतसम्म काइमेरिक एन्टिजेन रिसेप्टर (Chimeric Antigen Receptor/CAR) युक्त बनाइएको छ, जसले २४ घण्टामा ९० प्रतिशत बि–सेल (B- Cell) क्यान्सरलाई नष्ट गर्छ। साथै, यी कार–टी सेलले पर्याप्त मात्रामा क्यान्सर मार्ने मलिक्युल IFNgamma बनाउँछ। यी सबै अनुसन्धान मेमलियन सेल कल्चर ल्याबमा गरिएको हो जसमा फ्लोसाइटोमेट्री (Flowcytometry) पद्धतिको प्रयोग भएको छ।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालको यो सफलतालाई अस्पतालसम्म पु¥याई नेपाली रोगीमाझ पुर्‍याउन सबै निकाय तथा अस्पतालहरूको सहयोगको अवश्यकता पर्छ। जटिल प्रविधि हुँदाहुँदै पनि नेपाली माटोमा कार–टी सेलको सफल प्रयोगशाला परीक्षणलाई जनमानसबीच प्रष्ट पार्न आइतबार मनाउन लागिएको विश्व क्यान्सर दिवसको अवसरमा अत्यन्त सान्दर्भिक छ।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्