अफ्रिकन कप अफ नेसन्स: दश खेलाडीमा समेटिएको आइभरी कोस्ट नाटकीय जितसहित सेमिफाइनलमा

अफ्रिकन कप अफ नेसन्समा आयोजक आइभरी कोस्टले मालिमाथि २-१ को नाटकीय जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा आइभरी कोस्ट ४३ औं मिनेटमै १० खेलाडीमा समेटिए पनि १२२ औं मिनेटको गोलमा अन्तिम चारमा स्थान बनाउन सफल भयो।

खेलमा घरेलु टोली आइभरी कोस्ट ४३ औं मिनेटमा दश खेलाडीमा समेटियो। ‌ओडिलोन कोसोउनोस दोहोरो पहेंलो कार्डका कारण पहिलो हाफमा नै मैदान छाड्न बाध्य भएका थिए। त्यसपछि मालिले खेलमा दबाब बढाउँदै ७१ औं मिनेटमा नेनी दोर्जेलेसको गोलमार्फत् अग्रता लियो। तर निर्धारित समयको अन्तिम मिनेटमा आइभरी कोस्टले बराबरी गोल फर्कायो। उसका लागि सिमन अदिनग्रासले बराबरी गोल गरेका थिए।

त्यसपछि अतिरिक्त समयको अन्तिम केही मिनेट बाँकी रहँदा डियकिटेले निर्णायक गोल गरेका थिए। त्यसपछि उनी दोहोरो पहेंलो कार्डका कारण मैदानबाट बाहिरिएपनि त्यसको मूल्य भने चुकाउनु परेन।

त्यसअघि मालिलले खेलको १७ औं मिनेटमानै पेनाल्टीको मौका चुकाएको थियो। उसका ट्रावरीले पेनाल्टीको सदुपयोग गर्न नसक्दा मालीले पहिलो हाफमै अग्रताको मौका चुकाएको थियो।

अब फाइनल प्रवेशका लागि आइभरी कोस्टले कंगोको सामना गर्दा अर्को खेलमा नाइजेरिया र दक्षीण अफ्रिका भिड्नेछन्।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्