हुम्लामा फेरि हिमपात

सिमकोट- हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबारबाट हिमपात भइरहेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले आइतबारबाट हिमपात सुरु भएको र यो क्रम अहिले पनि जारी रहेको बताए।

उनले दोस्रो पटक हुम्लामा हिमपात सुरु भएको बताउँदै जमिनमा दुई ईन्चभन्दा बढी हिउँ जमेको जानकारी दिए।

हिमपात जिल्लाभर भएको छ। हिउ पर्न सुरु भएपछि धुलाम्मे जमिन सेताम्मे देखिएकाे छ।

गत पुस महिनाभर हिमपात नहुँदा किसानहरू निकै चिन्तित भएका थिए। किसान बलजिते कामीले यो हिमपात किसानका लागि निक्कै उपयोगी हुने बताउँदै केही दिन राम्रैसँग हिमपात भए राम्रो हुने बताए।

जौं, गहुँ र उवा उम्रने आशामा किसान देखिएका छन्। फलफुलका बिरुवा लगाउने समय भएको कारण त्यसका लागि पनि हिमपातले सहज बनाएको छ।

हिमपात भएपछि चिसो भने बढेको छ। सदरमुकाम सिमकोटभन्दा दक्षिणतर्फ भने दोस्रो पहिलो हिमपात हो।

उत्तर नाम्खा गाउँपालिकाका लिमी, न्यालु, हिल्सा, यारी, चाला लगायतका बस्तीमा भने डेढ फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी, हिल्साले जनाएको छ।

गत बिहीबार पनि हिमपात भएको थियो। यसअघि उत्तरी हुम्लामा गत मङ्सीर महिनामा हिमपात भएको थियो।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्