पहिचानको नारा लिएर चुनावमा जाँदा जनताका साथ नपाउनु दुर्भाग्यपूर्णः प्रधानमन्त्री दाहाल

फाइल फोटो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७० सालको चुनावमा आफूहरु पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल नारा लिएर निर्वाचनमा गएको भए पनि आदिवासी जनजातिकै साथ नपाएको बताए।

उनले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजातिले नै पहिचानविरोधीलाई साथ दिएको बताएको उल्लेख गरे।

उनले यो दोष आदिवासी जनजातिको नभई पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको बताए। उनले पहिचानवादी पार्टी एकताबद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको बताए।

प्रधानमन्त्री दाहालले आदिवासी जनजातिको श्रम र सीपलाई संरक्षण र प्रवर्द्धन गरी राष्ट्रिय आयमा वृद्धि गर्ने, विशेष औद्योगिक कार्यक्रम तर्जुमा गर्ने, आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई युनेस्कोमा अभिलेखन गर्ने, आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धी १६९, संयुक्त राष्ट्र संघका घोषणापत्रलगायतका सन्धी, अभिसन्धीहरु पूर्ण रुपमा कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताए।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्