हवाईभन्दा पैदल मार्गको भाडा महँगो

सिमकोट – माथिल्लो हुम्लाका स्थानीय वासीहरुले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नुपर्ने बाध्यता रहेको पाइएको छ। पैदल मार्गबाट यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने भएकाले सस्तो हुनुपर्ने पैदल मार्गको भाडा महँगो गर्ने गरेको हो।

पैदल यात्री कृष्ण गुरुङले हवाई सेवा बन्द हुँदा सिमकोटबाट पैदल मार्ग हुँदै नेपालगञ्जसम्म पुग्न हवाईभन्दा पैदल मार्गको भाडा महँगो परेको बताए।

उनले सिमकोटबाट नेपालगञ्जसम्म पुग्न ११ हजार आठ सय रुपैयाँ तिर्नुपरेको थियो। यो नेपालगञ्जसम्म पुग्नका लागि यातायात खर्च मात्र हो। जबकि सिमकोटबाट नेपालगञ्ज हवाई मार्गबाट जान पाएको भए नौ हजार दुई सयमा पुगिन्थ्यो।

यति मात्र होइन, हवाई मार्गबाट जान पाएको भए आर्थिक बचतका साथै समय पनि बच्थ्यो। उनले पैदल मार्गबाट आर्थिक व्ययभार पनि बढी र समय पनि धेरै लाग्ने गरेको बताए।

सिमकोटबाट नेपालगञ्ज पुग्न २८ घण्टा लाग्छ। उनले सिमकोटबाट नेपालगञ्ज पुग्न तीन वटा गाडीसमेत परिवर्तन गर्नुपरेको थियो।

उनले जस्तै माथिल्लो हुम्ला ४२ जना यात्रुले यो सामूहिक रुपमा भोगेको समस्या हो। उनले यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने भएकाले पैदल मार्गका यात्रु मर्काको पर्ने गरेको बताए।

गाडीले सात वर्षका बालकले पनि तीन हजार पाँच सय रुपैयाँ भाडा लिने गर्छ। यसरी भाडा महँगो तिर्ने गैरसरकारी संस्थामा काम गर्ने अर्का यात्रु राजन शाहले भाडा बढी मात्र नभएर जिपमा बसाइ पनि कष्टकर भएको बताए।

उनले तीन जना बस्ने सिटमा पाँच जना बस्नुपरेकाले पनि यात्रा अत्यासलाग्दो रहेको बताए। जिपको अगाडिको सिटमा चार जना यात्रुलाई कोचेर राखिएको थियो।

सिमकोटबाट सुर्खेतसम्म एउटा जिपले एकतर्फी ५१ हजार रुपैयाँसम्म भाडा असुल्ने गरेको पाइएको छ। प्रहरी नायब उपरीक्षक रबिन्द खनालले पैदल मार्गको भाडा चर्को भएको भन्दै त्यसलाई व्यवस्थित गर्ने प्रयास गरिएको बताए।

 

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्