खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेनः डा. कोइराला

मोरङ – कांग्रेस नेता डा. शेखर कोइरालाले खेलकुद क्षेत्रका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउनुपर्ने बताएका छन्।
मोरङको बूढीगंगा गाउँपालिकास्थित राष्ट्रपति रनिङ शिल्डको आइतबार उद्घाटन गर्दै नेता कोइरालाले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिएर काम गर्नुपर्ने सुझाव दिए।

प्रतिनिधिसभा सदस्य डा. कोइरालाले भने, ‘खेलकुदलाई नेताहरूले प्राथमिकतामा राखेको देखिँदैन। यस विषयमा म खेलकुदमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्नेछु र खेलकुदलाई गम्भीरतापूर्वक लिन आग्रह गर्छु। यसका लागि बजेट उपलब्ध गराउन जोड दिनेछु।’

सरकारले यसपटकको बजेटमा समेत खेलकुदलाई गम्भीरतापूर्वक नलिएको बताएका नेता कोइरालाले भने, ‘यसपटक बजेटमा खेलकुदमा बजेट नै छैन भने पनि हुन्छ। सरकारले विजयी खेलाडीलाई पुरस्कृत गर्छौं भने पनि रकम अभाव देखाउँदै पुरस्कृत गर्न गाह्रो देखिएको थियो।’

खेलकुदले स्वस्थ्य मात्र नभई अनुशासितसमेत बनाउने भन्दै नेता कोइरालाले विद्यालयस्तरबाटै खेल र शिक्षालाई सँगै अघि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘सरकारले खेलकुदलाई गम्भीरतापूर्वक नलिँदा यसमा समर्पित भएर खेल्ने खेलाडीलाई समेत समस्या हुन्छ। खेल र खेलाडीको उत्पादन र प्रोत्साहन यही विद्यालयस्तरबाट हुनु आवश्यक छ। यसका लागि चाहिने बजेट सरकारले दिन सक्नुपर्छ।’

राष्ट्रपति रनिङ शिल्डका लागि सरकारले १ लाख रुपैयाँ बजेट उपलब्ध गराउनुलाई सुखद सुरुआत मानेका कोइरालाले सरकारले आगामी दिनमा खेलाडी उत्पादन र रनिङ शिल्डलाई प्रभावकारी बनाउन आवश्यक बजेटमा वृद्धि गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइरालाले शिक्षा, खेलकुदसँगै प्राविधिक शिक्षालाई विद्यालयस्तरबाटै अघि बढाउनुपर्ने आवश्यक्ता भएको बताए।

उनले भने, ‘हामीकहाँ चिकित्सक, इञ्जिनियर पढाउने र उत्पादन हुने क्रम बढ्दो छ। तर अब प्राविधिक शिक्षामा सोच्नुपर्छ। खेलकुदलाई पनि उत्तिकै महत्व दिनुपर्छ।’

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले शिक्षासँगै खेलकुदलाई अघि बढाउन सरकारले बजेट बढाउनुपर्नेमा जोड दिए।

अध्यक्ष थापाले भने, ‘भलिबल, मार्सल आर्टस, एथलेटिक्स, कपर्दीलगायत खेलकुद आयोजना गराउने गरी शिल्डको तयारी गरिए पनि पाँच दिनसम्म चल्ने प्रतियोगिताका लागि बजेट निकै कम हो। हामी आशा गर्छौं आगामी दिनमा सरकारले यसलाई गम्भीरतापूर्वक लिनेछ।’

पाँच दिनसम्म चल्ने शिल्डमा गाउँपालिकाका सार्वजनिक र निजीतर्फबाट कुल २३ वटा विद्यालयको सहभागिता रहेको छ। त्यसैगरी, शिल्डमा १ हजारभन्दा बढी विद्यार्थीले एथलेटिक्स, भलिबल, कपर्दी र करातेमा प्रतिस्पर्धा गर्ने गाउँपालिकाले जनाएको छ।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्