प्रदेशमा विकासको गति सुस्त छः मुख्यमन्त्री यादव

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको विकास सुस्त गतिमा भइरहेको बताएका छन्।

आइतबार प्रदेशसभाको छैटौं वार्षिकोत्सवको अवसरमा जनकपुरधामस्थित प्रदेशसभामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले जति स्पिडले प्रदेशमा काम हुनुपर्ने त्यति स्पिडले हुन नसकेको बताए। प्रदेशसभाको पाँचौं वार्षिकोत्सवको क्रममा मुख्यमन्त्री यादवले आफू बुलेटको स्पिडमा प्रदेशमा काम गर्ने बताएका थिए।

‘राष्ट्रपति, उपराष्ट्रपति, बारामा उपनिर्वाचन त्यसपछि राष्ट्रियसभा निर्वाचन भयो। एक वर्षमा निर्वाचन नै धेरै भएकाले समेत कामले गति लिन सकेन,’ उनले भने, ‘मेरो नेतृत्वको सरकारमा एमाले पनि थियो, जनमत पनि थियो। मैले कुनै पनि दलका मन्त्रीलाई यो काम नगर भनेको छैन। जति काम गर्न सकिन्छ गर्नुहोस् भनेँ। मैले स्वतन्त्र तरिकाले आफ्नो मन्त्रालयको जिम्मा आफै पूरा गर्न भनेको छु। कसैलाई कुनै दबाब दिएनँ’, उनले भने।

मुख्यमन्त्री यादवले संघीयता मधेश प्रदेशकै कारण रहेको र संघीयताको सवालमा यहाँ सबै दल एकजुट रहेको बताए। उनले संघीयता कार्यान्वयनका लागि सबै दल मिलेर लडेको बताए।

‘हामीले एक वर्षमा पनि धेरै पटक मौखिक कुरा गरेका हौँ प्रधानमन्त्रीसँग। एमालेसँग हुँदा पनि गरेका हौँ, कांग्रेससँग हुदा पनि गरेका हौँ’, उनले अगाडि भने, ‘प्रधानमन्त्रीज्यूको सधैँ आश्वासन दिनुहुन्छ। कहिले एक महिनामा गरिदिन्छौँ, पन्द्र दिनमा गरिदिन्छौँ। सबै दलका सहमतिपछि हामीले ध्यानाकर्षणपत्र पनि दियौँ। अनि फेरि समय लिनुभयो, एक महिनाको त्यस समयमा पनि नभएपछि हामीले संकल्प प्रस्ताव पारित गर्‍यौँ।’

मुख्यमन्त्री यादवले प्रधानमन्त्रीले माघ २४ गते अन्तरप्रदेशको बैठक बोलाएको बताउँदै प्रधानमन्त्रीसमेत यसमा सक्रियतापूर्वक लागेको आफूले देखेको बताए।

यस्तै, उनले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मामा देशकै सबैभन्दा ठूलो रंगशाला जनकपुरधाममै बन्नका लागि डिपिआर तयार भइरहेको बताए। उनले भने, ‘त्यो तयारी भएपछि मेरो इच्छा छ, प्रधानमन्त्रीजीलाई ल्याएर शिलान्यास गराउने र छिट्टो काम गराउने।’

मुख्यमन्त्री यादवले प्रदेशसभामा आफूहरुले बढी विधेयक लग्न नसकेको भन्दै उनले एक वर्षमा ७ वटा विधेयक प्रदेशसभामा पठाएको बताए। उनले पठाएको विधेयकमध्ये ३ वटा पारित भएको र बाँकी ४ वटा विषयगत समितिमा रहेको बताए।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्