जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैनः नेपाल

फाइल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन्।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले जनताको विश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरूले कुनै पनि अर्थमा ठीक भन्न नसकिने तर्क गरेका हुन्।

पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतवार काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्नेहरूले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

उनले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अंगीकार गरेर आफूहरू अघि बढ्ने बताए। आज पनि कम्युनिष्ट पार्टीलाई सिध्याउन देशी, विदेशी साम्राज्यवादी र प्रतिक्रियावादीहरू लागिपरेकाले त्यसबाट जोगिन पनि नेपालका कम्युनिष्टले जनताको बहुदलीय जनवादी विचारमा चल्नु आवश्यक रहेको अध्यक्ष नेपालको भनाइ थियो।

उनले जनताको बहुदलीय जनवादको सारतत्व नबुझेकाहरूले मात्रै यसको विरोध गर्ने गरेको जिकिरसमेत गरे।
अध्यक्ष नेपालले समाजमा वर्गहरू रहेसम्म विभिन्न पार्टी अस्तित्वमा रहने हुनाले पनि प्रतिस्पर्धाको राजनीतिमा जनताको विश्वास जित्ने जबजको अन्तरबस्तुको सान्दर्भिकता कायमै रहेको बताए।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्