मेयर कप अन्तर विद्यालय फुटबल छात्रतर्फ मोडेल र कृष्ण मावि सेमिफाइनलमा, छात्रामा मोडेल फाइनलमा प्रवेश

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।

छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ। छात्रतर्फ कृष्ण माविले बाल विद्या र नेपालगञ्ज मोडेल एकेडेमीले राम जानकी माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। आदर्श स्कूलले नियम विपरित खेलाडी खेलाएको भन्दै प्रोटेष्ट परेपछि अघि बढेको बाल विद्यालाई कृष्ण माविले ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ। निर्धारित समयमा एक/एक गोल भएको थियो। कृष्ण माविले शंकर चन्दको गोलले ७ मिनेटमै अग्रता लिएको थियो। बाल विद्याका सन्देश न्यौपानेले ४८ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएका थिए। त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन र खेलको निर्णय ट्राइबेकरबाट गरियो।

जसमा कृष्ण माविका शंकर चन्द, सन्दीप परियार र मोहित थापाले गोल गरे। कृष्ण श्रेष्ठ, विशाल बाह्रघरे र निर्मल परियारले गोल गर्न सकेनन्। बाल विद्याका शिशिर थापा र कुशल घर्तिमगरले गोल गरे भने प्रतिक सुनार, निर्मल परियार र राज थापामगर र कृष्ण पुरीले गोल गर्न सकेनन्। कृष्ण माविका नविन विक म्यान अफ द म्याच भए। उनलाई संघीय सांसद डा। धवलशमशेर राणाले पुरस्कृत गरे। अर्को खेलमा मोडेलले रामजानकीलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो। मोडेलका योगेश शाही ठकुरी, निकेश सिंह र रुपेश बोहराले गोल गरे। विनोद शाही, निश्चल पुनमगर र रोशन चौधरीले गोल गर्न सकेनन्। राम जानकीका रिजन कठायत र गणेश आलेले मात्रै गोल गरे। अनिल रानामगर, अमित थापा, सागर दर्लामी र महेश विकले गोल गर्न सकेनन्।

नेपालगञ्ज मोडेलका निश्चल पुनमगर म्यान अफ म्याच भए। उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका अध्यक्ष टेकेन्द्र मल्लले पुरस्कृत गरे। अब सेमिफाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्सविरुद्ध जयबागेश्वरी स्कूल र नेपालगञ्ज मोडेलविरुद्ध कृष्ण माविको खेल हुनेछ। छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ। मोडेलले मंगलप्रसाद माविलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गरेको हो।

निर्धारित समयमा २५ मिनेटमै निरुता शाहीको गोलबाट मंगलले अग्रता लिएको थियो। मोडेलका चमेली चौधरीले ३३ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएकी थिइन्। ट्राइबेकरमा मोडेलका भविसरा बुढाक्षेत्री, शोभा शाही र आरुसी भट्टराईले गोल गरे। मंगलका उर्वसी शाहीले मात्रै गोल गरिन्। निरुता शाही, झुमा थारु र विनिता बुढाले गोल गर्न सकेनन्। नेपालगञ्ज मोडेलका आरुसी भट्टराई ओमन अफ द म्याच भइन्।

उनलाई एन्फाका पूर्वउपाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले पुरस्कृत गरे। अर्को खेलमा जनसेवा मावि गिजरा डायनामिक हाइस्कुललाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। जनसेवाका पुष्पा कामीले र शुभेच्छा बोहराले गोल गरेका थिए। पुष्पा कामी ओमन अफ द म्याच भइन्।

उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ का वडाध्यक्ष मनोज श्रेष्ठले पुरस्कृत गरे। प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन्। प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन्।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्