नेपालगञ्ज – बाँकेको कौशिलानगरमा लाली गुराँस पञ्चेबाजा संरक्षण समिति बनाएर महिलाको टोली बाजा संरक्षणमा लागेको छ।

दलितमा पनि दमाई (परियार) को बाहुल्य रहेको उक्त ठाउँमा बाजा संरक्षणमा महिला अगाडि सरेका छन्। बाजा बजाउने सबैजसो दमाई थरका छन्।

बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका वा नेपालगञ्जमा हुने महोत्सव र्‍याली, विवाहमा महिलाले पञ्चेबाजा बजाएको देख्न सकिन्छ। ती महिला यही समितिमा आवद्ध छन्।

समितिले १५ जना महिला र १५ जना पुरुषको टीम बनाएको छ। यो टीमले महिला र पुरुष मिलेर वा एक्लाएक्लै बाजा बजाउँछन्। महिलाको मात्रै माग आयो भने महिलामात्रै जान्छन् भने पुरुषसमेत मिसाएर बोलाएमा त्यही अनुसार जाने गर्दछन्।

समितिका उपाध्यक्ष सुर दमाईले बाजासँगै पोशाक बनाएको र बोलाएको ठाउँमा बाजा बजाउन जाने गरेको बताए।

पुरुषले समेत बाजा बजाउन छोड्दै गएको बेलामा कौशिलानगरका यी महिला टोली बाजा बजाउन अगाडि सरेर नेपाली संस्कृतिको संरक्षण र विकासमा लागेका छन्।

नेपालकै धेरै जनसंख्या रहेको बैजनाथ गाउँपालिकामा मिश्रित बसोबास रहेको छ। सशस्त्र द्वन्द्वकालको बेलामा तत्कालिन कर्णाली अञ्चलका धेरै जिल्लाका मानिसको बैजनाथमा झरेका छन्।

यो गाउँपालिकामा प्रायः जुम्लीबाजा र रुकमेली बाजाको माग बढी रहेको समितिका उपाध्यक्ष दमाईले बताए। ‘हामीले बाजा बजाउदा एक जना नाइके बनाएका हुन्छौं। जुम्ली बाजा र रुकमेली बाजाको छुट्टा छुट्टै नाइके छन्, उपाध्यक्ष दमाईले भने, बैजनाथमा यही दुई भेगका मान्छेले प्रायः बोलाउँछन्।’

ठूल्ठूला कार्यक्रममा मात्रै होइन, घरमा हुने स–साना रमाइलोमा समेत बाजा टोलीलाई बोलाउने गरिन्छ। उनीहरु गएर बाजा बजाउँछन्। ठूला कार्यक्रममा दिनको २० हजारसम्म लिने गरिएको छ। आयोजकले दिएको पैसामध्ये केही समूहमा राखेर अरु बाँड्ने गरिन्छ। उपाध्यक्ष दमाईले थपे, ‘दिनभरी बाजा बजाएपछि साँझ घर जादा केही पैसा त लिएर जानु प¥यो नि। घर खर्च पनि चलाउनै पर्छ।’

गतवर्ष फागुनदेखि महिला टोली तयार पारिएको थियो। अहिलेसम्म समितिमा ४० हजार जम्मा गरिएको छ। एक जनाको भागमा एक हजार रुपैया पर्ने भयो भने सय रुपैया समितिमा जम्मा गर्ने गरिन्छ।
उपाध्यक्ष दमाईका अनुसार, महिला टोली निकाल्न समितिलाई साह्रै गाह्रो भएन।

महिलालाई १५ दिनको तालिम दिइयो। सबैले सबै बाजा बजाउन नजाने पनि आफूले बजाउने बाजा भने बजाउन जानेका छन्।

यो टोलीलाई विवाहको सिजनमा भ्याइ नभ्याई हुन्छ। जताततैबाट बोलाउँछन्। महोत्सवको ¥यालीमा बोलाइन्छ।

दमाईबाहेक अन्य जातीलाई किन नमिसाएको नि रु उपाध्यक्ष दमाई भन्छन, हामीले हाम्रो समुदायलाई समेटेर टीम बनाएका छौं। कोही म पनि बाजा बजाउँछु भनेर आयो भने उसलाई पनि राख्छौं।’

उनले आफूहरुको पुख्र्यौली पेशा भएको र अहिले पैसा पनि कमाई हुने भएपछि सबैको आकर्षण बढेको बताए। ‘महिला दमाईले मात्रै कपडा सिलाउँथे। अहिले हेर्नुस् त कमाई हुने भएपछि सबै जातीले कपडा सिलाउँछन्, उपाध्यक्ष दमाईले भने, सीप सानो र ठूलो हुँदैन। जान्नु पर्छ, कमाई हुन्छ।’

आफूले जानेको कलालाई फैलाएर महिलालाई समेत सँगै अगाडि बढाएर समितिले उदाहरणीय काम गरेको छ।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्