दाङ – लुम्बिनी प्रदेश स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। प्रदेश सरकार र प्रदेश सभा स्थापनालाई एकैदिन मनाउने गरी उक्त कार्यक्रम गरिएको हो।

प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको मान्यता दिँदै सातौं स्थापना दिवस मनाइएको हो। राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोह आयोजना गरेर प्रदेश स्थापना दिवसलाई मनाइयो।

संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्न सक्ने अवस्थामा पुगेको, अझै पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा आइनपुगेकाले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी भूमिका खेल्न आवश्यक रहेको प्रदेश प्रमुख अमिक शेरचनले बताए।

लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो। यस वर्ष दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको थियो।

कार्यक्रममा थारु, मगर, नेवारलगागत विभिन्न समुदाय विशेषको झाँकीहरु प्रदर्शन गरिएको थियो।