क्यान्सरको उपचारका लागि सबै उमेरका नागरिकको बीमा हुनुपर्छः शेखर कोइराला

मोरङ – मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालले क्यान्सर रोगको उपचारका लागि अस्पताल सेवा सुरु गरेको छ।
क्यान्सर दिवसका अवसरमा आइतबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन गरे।

अस्पतालको उद्घाटन गर्दै नेता कोइरालाले प्रदेश राजधानीमा क्यान्सर अस्पताल सेवा सुरु भएपछि बिरामीलाई सहज हुनेमा विश्वस्त रहेको बताए। क्यान्सर लागेको समयमा निर्क्यौल हुने र त्यसको उपचार पनि हुने हुँदा पहिलेजस्तो आत्तिनुपर्ने स्थिति नभएको नेता कोइरालाले बताए।

कोइराला परिवारले समेत १५ जनालाई क्यान्सरका कारण गुमाएको बताउँदै नेता कोइरालाले क्यान्सर रोग समयमा पत्ता लगाउन सके निको हुने बताए। उपचार खर्चिलो हुने हुँदा सरकारले मापदण्ड बनाएर क्यान्सरका बिरामीका लागि बीमा योजना ल्याउनुपर्नेमा उनले जोड दिए।

बीमाबाहेक उपचारका लागि राज्यसँग अर्को विकल्प नरहेको उनले बताए। उनले भने, ‘युवालाई बीमा नभए पनि हुन्छ। तर एउटा उमेर पुगेका नागरिकका लागि बीमा आवश्यक छ। तर, ६० वर्ष उमेर नाघेकाका लागि बैंकले बीमा गर्न पाउँदैन भन्छ। बीमा कसको र के को निम्ति हो?’ बीमा सबै उमेरका नागरिकले गर्न पाउनुपर्नेमा डा. कोइरालाले जोड दिए।

त्यसैगरि, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचारका लागि मुलुकबाहिर जानुपर्ने बाध्यता हटेको बताए। श्रेष्ठले भने, ‘मलाई त अस्पताल सामान्य नै होलाजस्तो लागेको थियो। तर, यहाँ आएपछि गजब लाग्यो। साँच्चै अब बिरामीले उपचारका लागि भारत पुगिरहनुपर्ने अवस्था अन्त्य भएको छ।’

कार्यक्रममा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले क्यान्सर उपचारका बिरामीलाई सहज वातावरण बनेको बताए। उनले अस्पतालनजिक उपचारका लागि आउने बिरामी, आफन्तको बसोबासका लागि धर्मशाला बनाउन सक्दा प्रभावकारी हुने बताए। उनले भने, ‘नेपालसँगै छिमेकी राष्ट्रबाट समेत उपचारका लागि आउनेछन्। बिरामी उपचारसँगै कुरुवा, आफन्त बस्नका लागि सुलभ रुपमा धर्मशाला आवश्यक हुन्छ। यो बनाउँदा उपचारमा थप सहजता हुनेछ।’

शिक्षण अस्पताल परिसरमा रहेको इन्स्टिच्युटमा ३ वटा ठूला बंकर रहेका छन्। हाल दुई वटा बंकरबाट उपचार हुँदै आएको बताएका सञ्चालक कार्कीले भने, ‘हामीसँग ३ वटा ठूला बंकर रहेका छन्। हाल एउटा बंकर ब्रान्की थेरापी र अर्कोबाट ट्रु विम रेडिएसनका लागि प्रयोग हुनेछ। अर्को एक बंकर चाँडै सञ्चालनमा आउने र त्यसका लागि मेसिन भित्रिने क्रममा रहेको छ।’

कार्कीले डेढ वर्षअघिबाट क्यान्सर अस्पताल निर्माण सुरु गरेका हुन्। करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको इन्स्टिच्युटले हाल दैनिक ४० देखि ५० जना बिरामीलाई सेवा दिँदै आएको अस्पतालको भनाइ छ।

माघ २१, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्