इंग्लिस प्रिमियर लिग: आर्सनलसँग लिभरपुल हारेपछि उपाधि होड रोमाञ्चक

इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको छ। आइतबार राति भएको खेलमा लिभरपुल आर्सनलसँग लिभरपुल ३-१ ले पराजित हुँदा अंक तालिका रोमाञ्चक बनेको हो।

लिग अंक तालिकामा हारका बाबजुत २३ खेलबाट ५१ अंकका साथ लिभरपुल शीर्ष स्थानमा कायम छ। लिभरपुललाई हराएको आर्सनल ४९ अंकका साथ दोस्रो स्थानमा रहँदा यी दुईभन्दा दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ४६ अंकका साथ तेस्रो स्थानमा छ।

यदि सिटीले दुबै खेल जितेमा समान खेलबाट साविक च्याम्पियन १ अंक माथि हुने छ। यस्तोमा उपाधि होड रोमाञ्चक बनेको हो।

खेलमा बुकायो साकाको गोलमार्फत् १४ औं मिनेटमा आर्सनलले अग्रता लिएको थियो। तर गाव्रियलले आफ्नै पोस्टमा गोल गर्न पुग्दा पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा सकियो।

दोस्रो हाफमा पनि राम्रो लयमा देखिएको आर्सनलले ६७ औं मिनेटमा मार्टिनेलीको गोलमार्फत् पुन: अग्रता बनायो। गोलरक्षक एलिसन बेकर बल क्लियर गर्ने क्रममा भान डाइकसँग जुध्न पुग्दा बल क्लियर हुन सकेन। जसलाई मार्टिनेलीले खालि पोस्टमा गोल गर्न पुगे।

खेलको ८८ औ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। उसका डिफेन्डर इब्राहिमा कोनाटे दोहोरो पहेंलो कार्डका कारण रातो कार्ड पाएका थिए।

लगत्तै इन्जुरी समयमा गोलरक्षक एलिसनको अर्को गल्तीको फाइदा उठाउँदै लेनार्डो ट्रोसार्डले गोल गर्दा आर्सनल ३-१ ले विजयी भयो।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्