हङकङमा मेसी नखेलेपछि समर्थक आक्रोशित, आफ्नो टिकट मूल्य फिर्ता गर्न माग

अहिले प्रि-सिजन टुरका लागि अमेरिकी क्लब इन्टर मियामी एसियाको भ्रमणमा रहेको छ। साउदीमा दुई मैत्रीपूर्ण खेलपछि हङकङ पुग्दा उसका स्टार स्ट्राइकर लियोनल मेसीलाई हेर्नेको भीड सडकमा उत्रिएको थियो।

३६ वर्षीय विश्वकप विजेता कप्तान मेसीको खेल हेर्न ४० हजार समर्थक मैदान पुगेका थिए। मियामीले ४-१ ले हङकङ लिग इलेभेनलाई हराएको खेलमा समर्थक भने आक्रोशित अवस्थामा मैदानबाट बाहिरिए।

मेसी ह्यामिस्ट्रिङको कारण देखाउँदै मैदान प्रवेश गरेनन्। दोस्रो हाफमा अधिकांश समय हजारौं समर्थकले मेसीलाई मैदान उतार्नका लागि नाराबाजी गरेपनि इन्टर मियामीले आफ्ना स्टारलाई मैदान उतारेन।

अन्तिम सिठ्ठी बजेपछि अविश्वसनीय समर्थनका लागि मियामीका मालिक डेभिड बेकह्यामले धन्यवाद दिँदा समर्थकहरू आक्रोशित देखिएका थिए।

आफ्नो टिकट रकमको अवमूल्यन भएको भन्दै समर्थकहरूले उजुरी दिएपछि हङकङ सरकारले म्याच फिको ठूलो मात्रामा कटौती गर्दै समर्थकको टिकट मूल्यको ठूलो हिस्सा फिर्ता गर्न सक्ने जनाइएको छ। समर्थकहरूले उक्त खेल हेर्नका लागि कम्तीमा १ हजार हङकङ डलर (१७ हजार नेपाली) रकम तिरेका थिए।

समर्थकले मेसीसँगै स्वारेज पनि अनुपस्थित भएपछि आफूहरूको अवमूल्यन भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। खेलपछि आयोजकले एक विज्ञप्ति जारी गर्दै खेल अघि मेसी र स्वारेज नखेल्नेबारे आफूहरूलाई इन्टर मियामीले केही जानकारी नदिएको बताएको छ। यद्यपि उसले मेडिकल टिमको सल्लाहअनुसार दुबैले नखेलेको बताएको छ।

इन्टर मियामीका म्यानेजर गेराडो मार्टिनोले समर्थकहरूको चाहना आफूहरूले बुझेको बताए। उनले भने, ‘हामीले समर्थकहरूको निरासा बुझेका छौं। हामी मैदानमा मेसी र स्वारेजलाई उपस्थित गराउन नसकेकोमा क्षमा माग्न चाहन्छौं। यो हाम्रो मेडिकल टिमको निर्णय हो।’

उनले सम्भावना भएको भए थौरै समयका लागि भएपनि मैदानमा लग्ने तर ठूलो चुनौती भएका कारण खेलाउन नसकेको पनि बताए।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्