रोल्पाका विकट गाउँमा पुग्यो बिजुली

रोल्पा- रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका- ३ र ४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो ।

३३ केभी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका उप-महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरेका हुन् । गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने उनले बताए । गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ थियो ।

‘यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो । गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उनले भने, ‘अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन । दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ । घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ ।’

पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरुमा विद्युतीकरण पुगेको बताए ।

बाँकी २० प्रतिशत घरहरुमा पनि आगामी डेढदेखि २ वर्षभित्र बिजली पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए । एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकबाट ऋण र सहयोग लिएर रोल्पामा विद्युतीकरणको काम अघि बढाएको पुनले बताए ।

नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए । एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकका दुई आयोजनामार्फत जिल्लाका सुनछहरी, लुंग्री, सुनिल स्मति, थवाङ, गंगादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणको प्रक्रिया अघि बढेको जानकारी उनले दिए ।

केही महिनाको बीचमा लुंग्री गाउँपालिका- १, रुण्टीगढी गाउँपालिका- १ र ८, थवाङ गाउँपालिका- ३, गंगादेव गाउँपालिका- १ र ३ माडी गाउँपालिका- १ र २, त्रिवेणी गाउँपाकिला- ६ मा बिजुली बालिएको जानकारी साहले दिए ।

‘बाँकी २० प्रतिशत स्थानमा आगामी दुई वर्षभित्र बत्ती बाल्ने र जिल्लालाई उज्यालो बनाउने गरी काम भइहरेको छ’, उनले भने, ‘बिजुलीका पोलहरु ठाउँठाउँमा झार्ने काम सुरु हुँदैछ ।’

भौगोलिक विकटता तथा बस्तीमा छरिएर रहेका घरहरुका कारण सहरी वा तराई क्षेत्रमा जस्तो पहाडी क्षेत्रमा छिटो विद्युतीकरण गर्न असहज हुने अनुभव साहले सुनाए ।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्