यु–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

यु–१९ विश्वकप विश्वकप समग्रमा राम्रो भयोः प्रशिक्षक टमाटा

काठमाडौँ – दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भई नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो। यु–१९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो। समूह चरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा अफगानिस्तानलाई पराजित गरेको थियो।

त्यस्तै, सुपरसिक्समा बंगलादेश र भारतसँग पराजित भएको हो। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताए।

उनले नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए। विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए।

उनले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रस्तुति समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुति भने बलिङमा राम्रो भए पनि ब्याटिङमा राम्रो हुन नसकेको बताए।

उनले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेली नै रहन्छन् भन्ने नहुने बताए। उनले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताए।

त्यस्तै, गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताए। उनले बलिङमा राम्रो भए पनि ब्याटिङमा आफूले सोचेकोजस्तो हुन नसकेको बताए। खेलमा सधैँभरी राम्रो नै हुन्छ भन्ने नसकिने र उत्तारचढाव भइरहने बताए। समग्रमा विश्वकपबाट अनुभव लिएको बताए।

त्यस्तै, आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताए। उनले सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको बताए।

त्यस्तै, सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताए। उनले खेलबाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताए।

यु–१९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताए। उनले विश्वकप समग्रमा राम्रो भएको बताए। उनले यु–१९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको उल्लेख गरे।

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गरेका थिए।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्