अहिले मुलुकको परिस्थिति कहालीलाग्दो छः विष्णु पौडेल

फाइल फोटो

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको आरोप लगाएका छन्।

सोमबार प्रेस चौतारी नेपालको २६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले अहिलेको मुलुकको परिस्थिति कहालीलाग्दो रहेको बताए। उनले देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाए।

उनले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए। उनले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भए पनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए।

उनले प्रतिपक्षका आवाज किनारा लगाउने काममा सरकार उद्धत रहेको बताए। उनले पार्टीको सदनमा प्रस्तुति झनै सशक्त हुने बताए। उनले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभूति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको उल्लेख गरे।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्