क्यानभित्र अविश्वास बढ्दै, नयाँ कार्यसमितिको ६ महिना निबित्दै अदालत र अख्तियारमै चुनौती

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व चयन भएको ५ महिना नबित्दै विवाद देखिन थालेको छ। एकअर्काप्रतिको अविश्वासले बोर्ड बैठकसमेत बस्न सकेको छैन।

क्यानभित्रको असन्तुष्ट पक्षले क्यानभित्र छलफलबिना नै निर्णय हुने गरेको भन्दै बोर्ड बैठक बोलाउन माग गरिरहेका छन्। तर, क्यान केन्द्रीय कार्यसमितिको बैठक कहिले बस्ने तय भएको छैन। यो बीचमा क्यानका गतिविधिलाई लिएर सर्वोच्चदेखि अख्तियारसम्म मुद्दा मामिला सुरु भएका छन्। क्यानको नयाँ नेतृत्व चयन भएको आधा वर्ष नबित्दै अदालतदेखीि अख्तियारसम्मको चुनौती सुरु भएको छ।

जीएम नियुक्ति विवाद सर्वोच्चमा


गत २३ पुसमा क्यानले जेनेरल म्यानेजर (जीएम) का रुपमा उत्सव ढुंगानालाई नियुक्त गरिएको थियो। ढुंगानालाई जीएम बनाउन सचिव पारस खड्काले नियुक्तिको प्रक्रिया नै मिचेको आरोप लाग्ने गरेको छ। नियुक्तिकै समयमा क्यानका केही पधाधिकारीले विरोध जनाएका थिए।

पारसले आफ्नो स्वार्थ पूरा गर्न आफ्नो नियुक्तिसँगै पहिले नै भएको आवेदन दोस्रो पटक पनि प्रकाशन गर्न लगाएर ढुंगानालाई नियुक्ति दिएका थिए। ढुंगाना ‘बलियो नेपाल’ नामक संस्थाको डाइरेक्टर रहेको समयमा पारस ‘एक्जुकेटिभ बोर्ड मेम्बर’ रहेका थिए। धेरैले उनीहरुको यो सम्बन्धकै कारण थप अनुभवी र बलियो विरासत भएका दाबेदार छानिन असफल भएको आरोप लाग्ने गरेको छ।

आवेदकहरुले नै आपति जनाउँदै अदालत पुगेका छन्। आवेदक नवराज कोइरालाले मापदण्ड पूरा नगरी जीएम नियुक्त गरिएको भन्दै अदालति प्रक्रियामा रहेको बताए। उनले भने, ‘मुद्दा दर्ताको प्रक्रियामा रहेको छ। केही दिनमा नै दर्ता नम्बर आउँछ।’

उनले ढुंगानाको नियुक्ति स्वार्थ बाझिने किसिमको भएको र आफूहरुले क्यानको विधान र प्रक्रियामा प्रश्न उठाएको बताए। कोइरालाले भने, ‘योग्यता पुगेको जोसुकै पनि जीएम हुन सक्छ तर प्रक्रिया मिचेपछि कानुनी उपचार खोज्नु स्वभाविक हो। त्यसमा लागिरहेको छु।’

महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल  रहेका थिए। समितिमा रहेका क्यानका सचिव खड्का, पोखरेल दुवै बलियो नेपाल संस्थाको संस्थापक रहेको र त्यही संस्थामा आबद्ध व्यक्ति ढुंगानालाई नै महाप्रबन्धकका लागि छनोट गरिएको स्पष्ट रुपमा देखिएको बताइएको छ।

प्रधानमन्त्री कप र नियुक्ति विवाद अख्तियारमा


केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता र जीएम नियुक्तलगायतको विषयमा अनियमितता भएको भन्दै अख्तियारमा समेत उजुरी परेको छ। क्यान स्रोतका अनुसार अख्तियारमा प्रधानमन्त्री कप र जीएम नियुक्ति तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनियमितताको उजुरी दिइएको छ।

प्रधानमन्त्री कपमा गत संस्करणभन्दा यो पटक खेलाडीको पारिश्रमिक भारी मात्रामा कटौती भएको भन्दै सचिव खड्काको आलोचना भएको छ। क्यान स्रोत भन्छ, ‘आफू खेलाडी हुँदा पारिश्रमिक कम भयो भनेर आन्दोलन गर्ने, अहिले आफू नेतृत्वमा आएपछि पैसा नभएको भन्दै खेलाडीको पारिश्रमिक कटौती गर्ने?’ उनका अनुसार गत संस्करणमा १५ सय म्याच फी रहेकोमा यो पटक घटाएर ५ सय मात्र राखिएको छ।

अध्यक्ष र सचिवबीच नै अविश्वास !


क्यान अध्यक्ष चतुरबहादुर चन्दको बलियो साथ पाएर सचिव पदमा विजयी भएका पारस खड्काले क्यानमा आएको छोटो समयमा नै पारदर्शीताको नारालाई कमजोर बनाएको असन्तुष्ट पक्षको बुझाइ छ। पछिल्लो समय अध्यक्ष चन्द र सचिव खड्काबीच नै अविश्वास बढ्दै गएको छ।

सचिव खड्काले आफूले हस्ताक्षर गर्नुपर्ने पत्रमा समेत हस्ताक्षर गर्न नचाहने र अध्यक्षमाथि निरन्तर दबाब बढाएको स्रोत बताउँछ। यद्यपि, पारसले आफूले आफ्ना कुराहरु कार्यन्वयन गर्न नपाए राजीनामा दिने धम्कीसमेत पटक-पटक दिएको एक पधाधिकारीले बताए। उनले भने, ‘पारसले अध्यक्षलाई दबाब दिनुहुन्छ। अध्यक्षले स्वीकार्नु भएन भने राजीनामाको धम्की दिनुहुन्छ।’ ती पदाधिकारीका अनुसार तीन पटक  पारसले राजीनामा दिने चेतावनी दिइसकेको बताए।

यद्यपि, अध्यक्ष चन्दले भने अहिले कुनै अविश्वास नरहेको बताए। चन्दले भने, ‘अहिले क्यानमा केही अविश्वास छैन। सबै सहमति र सहकार्यमै भइरहेको छ। हामीले वर्षमा कम्तिमा चारवटा कार्यसमिति बैठक गर्ने भन्ने हो, त्यसका लागि पनि समय आउँदै छ।’

उनले बाहिर चलेका हल्लाहरु सत्य नभएको बताए। उनले भने, ‘बाहिर क्यानका विषयमा के-के हल्ला चलेका छन्, त्यो सत्य होइन। हाम्रो असन्तुष्टि र अविश्वास भएर कुनै प्रतियोगिताहरु प्रभावित भएका छन् र?’

उनले सर्वोच्च तथा अख्तियारमा परेको उजुरीकाबारेमा समेत आफूलाई जानकारी नभएको बताए। ‘सर्वोच्च तथा अख्तियारमा परेको मुद्दाको विषयमा पनि मलाई जानकारी भएन। कसले हालेको हो, उसलाई नै थाहा होला।’

क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक भने सबै राम्रो चलिरहेको अध्यक्षको कुरामा सहमत छैनन्। उनी भन्छन्, ‘सबै राम्रो चलिरहेको छ भन्ने त हैन। तर, अहिले केन्द्रीय सदस्यहरुलाई नै सूचनाको अधिकारबाट टाढा राख्ने प्रयास भइरहेको छ। हामी क्यानमा राम्रो होस्, सबैले अपनत्व लिन पाउन भन्ने पक्षमा छौं। कसैले एकलौटी काम गर्ने र बिग्रिएपछि त्यसको भागिदार हामी पनि हुनुपर्छ। त्यसैले सबै जानकारी पारदर्शी रुपमा होस् भन्ने चाहन्छौँ।’

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्