राष्ट्रियसभा अध्यक्षमा सिटौलाको आरोहणमा के-के छन् तघारो?

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति तय हुँदै गर्दा कांग्रेस र माओवादी दुवैले यस पदका लागि आफ्नो अनौपचारिक रुपमा दाबी प्रस्तुत गर्दै आएका छन्।

राष्ट्रियसभा निर्वाचनअघि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कांग्रेस पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउन सहमति भएको भनिएको थियो। तर अहिले सिटौलालाई अध्यक्ष बनाउनेबारे प्रचण्ड आफै संशयको अवस्थामा पुगेको एक विश्वस्त स्रोत बताउँछ।

माओवादीका दोस्रो पंक्तिका नेताहरुले त झन् राष्ट्रियसभाको अध्यक्ष आफ्नो दलले पाउनुपर्ने दाबी आन्तरिक मात्रै नभई दुई पक्षीय छलफलमा कडा रुपमा प्रस्तुत गरेका छन्। उता प्रतिनिधिसभा निर्वाचनमा झापा-३ बाट पराजित सिटौला पछिल्लो राष्ट्रियसभा निर्वाचनसँगै सक्रिय राजनीतिमा फर्किएका मात्रै छैनन्, उनको महत्वाकांक्षा पनि स्पष्ट रुपमा बाहिर देखिँदै गएको छ।

राष्ट्रियसभा अध्यक्षको रुपमा आफ्नो सम्भावित आरोहणभन्दा एक कदम अगाडि बढेर उनले गृह मन्त्रालयसम्म ताक्न थालेको काँग्रेसका भित्री स्रोतहरु बताउँछन्।

राष्ट्रियसभामा माओवादीका सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभा अध्यक्ष माओवादीकै हुने दाबी गरेका छन्। उनले राष्ट्रियसभा अध्यक्ष सिटौला हुने सहमति भएको भनेर बाहिर हल्ला मात्रै भएको बताए। बरु उनले प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा प्रधानन्त्रीको समयअवधिको छनोट र भागबण्ड गर्दा नै राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिने भनेर पहिल्यै सहमति भएको बताए।

नेता शर्माले भने, ‘जसरी प्रधानमन्त्रीको कार्यअवधिको बाँडफाँट र्दा सहमति भएको थियो भनिएको छ, त्यस्तैगरी राष्ट्रियसभा अध्यक्ष पनि माओवादीले पाउनुपर्छ भनेर सहमति भएको हो। त्यो सहमतिभन्दा पछाडि माओवादी सर्नेवाला छैन, कांग्रेस पनि सर्दैन होला। प्रचारका हिसाबले सिटौलालाई (अध्यक्ष) भनिएको होला। राष्ट्रियसभामा ठूलो दल भएको हिसाबले पनि माओवादीले राष्ट्रियसभा अध्यक्ष पाउनुपर्छ।’

उनले थपे, ‘प्रधानमन्त्रीको आलोपालो गर्दा माओवादी संवैधानिक परिषद्‌मा शून्य हुने भएकाले पनि माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने हुन्छ, यो बिषय हाम्रो पार्टीको संसदीय दलको बैठकमा उठेको छ। पार्टी अध्यक्ष प्रचण्डले सिटौलालाई अध्यक्ष बनाउने समझदारी भएको छैन भन्नुभएको छ, गठबन्धनमा भएको समझदारी अनुसार कांग्रेसले कोशी प्रदेशमा गडबडी गरेको छ। गठबन्धनको उम्मेदवारमध्ये कांग्रेसले जित्ने र माओवादीले हार्नु हुदैनथ्यो।’  राष्ट्रियसभामा सांसद शर्माको दुई बर्षे कार्यकाल बाँकी छ।

कोशी प्रदेशमा माओवादीकी उम्मेदवार चम्पादेवी कार्की राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसकै असहयोगका कारण पराजित भएपछि माओवादीभित्र कांग्रेसप्रति झन् ठूलो संशय बनेको माओवादीका भित्रियाहरु बताउँछन्। यसले पनि राष्ट्रियसभा अध्यक्षमा सिटौलाको आरोहण सोचेजस्तो सजिलो हुने छैन।

कोशी प्रदेशमा माओवादीकी उम्मेदवार चम्पादेवी कार्की राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसकै असहयोगका कारण पराजित भएपछि माओवादीभित्र कांग्रेसप्रति झन् ठूलो संशय बनेको माओवादीका भित्रियाहरु बताउँछन्। यसले पनि राष्ट्रियसभा अध्यक्षमा सिटौलाको आरोहण सोचेजस्तो सजिलो हुने छैन।

गठबन्धनमा कांग्रेसले निरन्तर घात गर्दै आएकोले यसपटक माओवादीले राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग गर्दै गर्दा कांग्रेस नेताहरु भने सिटौला अध्यक्ष बन्ने लगभग निश्चित भएको ठोकुवा गर्छन्। राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीका अनुसार कांग्रेस र गठबन्धनले सिटौलालाई अध्यक्ष बनाउन नै राष्ट्रियसभामा प्रवेश गराएको हो।

उनले भने, ‘नयाँ माननीयहरुको संसदमा प्रवेश भएको छैन। उहाँहरुको सपथ ग्रहण फागुन २१ गते हुन्छ,त्यसपछि कुरा अगाडि बढ्ने हो। खास गरेर सिटौलालाई हामीले माननीय सदस्य बनाउन मात्रै ल्याएका होइनौँ, प्रधानमन्त्री प्रचण्डसँग छलफल भएर प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवा र मसँग पनि सल्लाह भएर सिटौलाको प्रवेशले राष्ट्रियसभाको गरिमा बढाउनुका साथै उहाँको भूमिकाको महत्व जरुरी भएकाले ल्याएका हौँ।’

उनले थपे, ‘सिटौलाले हिजो खेलेको भूमिकाको कदर गर्दै राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी दिने कुरा भएको छ। कोशी प्रदेशको एक सिट माओवादीले हार्‍यो, कांग्रेसले धोका दियो भनेर माओवादीका साथीहरुले बोल्नु स्वभाविक हो। माओवादीको उम्मेद्वारले पनि हार्नु हुँदैनथ्यो, गठबन्धनका साथीहरुले हराउने भूमिका खेलेका हुन् भने त्यो अपराध हो। सिटौला कांग्रेसको प्रस्ताव र माओवादीको समर्थकमा अध्यक्ष बन्नुहुनेछ। अहिले कांग्रेस प्रतिनिधिसभा र राष्ट्रियसभाको प्रमुख, उपप्रमुख दुवै जिम्मेवारीमा छैन। संवैधानिक परिषद्‌मा हाम्रो प्रतिनिधित्व छैन। प्रधानमन्त्री पनि कांग्रेसको छैन। त्यही पनि हामीले गठबन्धनलाई स्वीकारिरहेका छौँ। त्यसैगरी माओवादीले पनि स्वीकार्नुपर्छ।’  रायमाझी ६ बर्षे कार्यकाल पूरा गरी यसपटक राष्ट्रियसभाबाट बाहिरिन लागेका छन्।

राष्ट्रियसभामा कांग्रेसको तर्फबाट नवनिर्वाचित सदस्य जितजंग बस्नेत पनि सिटौला नै अध्यक्ष बन्ने ठोकुवा गर्छन्। उनले देशसञ्चारसँग भने, ‘सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चित नै हो। सिटौलाको रुचि सँगसँगै पार्टीको पनि कुरा हो। उहाँजस्तो नेता राष्ट्रियसभा अध्यक्ष हुँदा राम्रो हुन्छ। पार्टीको कुरा उहाँलाई अध्यक्ष नै बनाउने हो। पार्टीले त्यही कारणले कुनै बिबाद नभइकन उहाँलाई टिकट दिएको थियो। उहाँ पार्टीबाट अध्यक्षको दाबेबार हो र सत्ता गठबन्धनले पनि उहाँलाई राष्ट्रियसभा अध्यक्ष बनाउँछ।’

उता दुई बर्षअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत माओवादीका राष्ट्रियसभा सदस्य नारायण दाहाल राष्ट्रियसभा अध्यक्षको लागि सबै पार्टीले आ-आफ्नो खालको दाबी गर्नु स्वाभाविक भएको बताउँछन्। मुलुक सशस्त्र युद्धपछि शान्तिप्रक्रियामा आउँदा सिटौलाले प्रभावकारी भूमिका खेलेका कारण उनलाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्छ भनेर कांग्रेसका नेताहरुले चर्चा मात्रै चलाएको उनको तर्क छ।

उनले भने, ‘कांग्रेसका नेताहरुले सिटौलाको चर्चा चलाएका छन्।,राष्ट्रियसभामा सबैभन्दा ठूलो दल हाम्रो हो। एकबर्षपछि संवैधानिक परिषद्‌मा हाम्रो प्रतिनिधित्व हुँदैन। राष्ट्रपति कांग्रेसबाट, प्रतिनिधिसभा सभामुख एमाले,उपसभामुख रास्वपा छ, राष्ट्रियसभा अध्यक्षमा फेरि कांग्रेसलाई दिदा माओवादीलाई के भन्ने प्रश्न पनि उठ्छ।’

उनले थपे, ‘कांग्रेसले अध्यक्षमा चाहना राख्नु स्वभाविक हो, तर हाम्रो पनि दाबी रहन्छ। गठबन्धनभित्र छलफल चल्दैछ।’

कांग्रेस र माओवादीले राष्ट्रियसभा अध्यक्षमा दाबी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अध्यक्षको लागि उम्मेद्वार खडा गर्ने सन्दर्भमा आन्तरिक छलफल सुरु गरेको छ।

गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमार्फत फागुन २१ पछि राष्ट्रियसभामा माओवादीका १७ सांसद हुनेछन्। यस्तै कांग्रेसका १६ र एकीकृत समाजवादी (नेकपा एस) का ८ सांसद हुनेछन् भने प्रमुख प्रतिपक्षी दल एमालेका एमालेका १० हुनेछन्।

जनता समाजवादी पार्टी जसपा-३, लोसपा १, मनोनित ३ र जनमोर्चाका १ सांसद रहने संघीय संसद सचिवालयले जनाएको छ। ६ बर्षे कार्यकाल पूरा गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद आगामी फागुन २० गते बाहिरिँदै छन् भने राष्ट्रियसभाको नयाँ अध्यक्षको लागि आगामी फागुन २९ गते निर्वाचन गर्ने संघीय संसद सचिवालयले तयार पारेको तालिकामा छ।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्