मुलुकलाई आवश्यक कानुन निर्माणमा केन्द्रित हुन जरुरी छः सभामुख घिमिरे

फाइल तस्बिर।

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन्।

सोमवारबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रका साझा मुद्दामा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गरे।

विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिले पूर्णता पाएसँगै संसदीय गतिविधि क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उनले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए।

सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै संसदका चालु अधिवेशन नतिजामुखी हुने विश्वाससमेत व्यक्त गरे। उनले संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालु अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने पनि बताए।

सभामुख घिमिरेले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने भएकाले उनीहरूको भावनाअनुसार सबै राजनीतिक दलले अघि बढ्नुपर्ने बताए।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्