स्याउका बिरुवा काँटछाँटमा किसान

स्याउको बोट काँटछाँट गर्न सिक्दै किसान। तस्बिरः राजन रावत, हुम्ला

हुम्ला – व्यावसायिक रुपमा स्याउ खेतीमा लागेका किसान स्याउका बोट काँटछाँटमा तल्लीन भएका छन्। राम्रोसँग स्याउ फलाउनका लागि बोट काँटछाँट मुख्य काम रहेको जानकारी पाउन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्।

सिमकोट गाउँपालिका– ६ का किसान जयचन्द्र रोकायाले स्याउका बोट काँटछाँट गर्न लागेको बताए। तीन सय ५० बोट स्याउ लगाएका रोकायाले यसअघि भने यसरी स्याउका बोट काँटछाँट गरेका थिएनन्।

उनले लगाएको दुई सयभन्दा बढी बोटले फल दिन थालिसकेको भताएका छन्। तर, कृषि प्राविधिकबाट बर्सेनि राम्रो स्याउ राम्रो उत्पादन गर्नका लागि बोट काँटछाँट पनि मुख्य काम रहेको जानकारी पाएपछि उनले आफ्नो स्याउ फर्म लगाएका बोटलाई काँटछाँट गरिरहेका छन्।

उनले स्याउ राम्रो फलाउन काँटछाँट आवश्यक रहेको जानकारी दिँदै अब बर्सेनि यो कार्य गर्ने बताए। हालसम्म यसरी स्याउका बोट काँटछाँट नगरेका रोकायाले यस वर्ष पहिलो अनुभव सँगाल्न थालेको बताए। सिमकोट गाउँपालिका– ४ का किसान जंगबहादुर शाहीले पनि स्याउका बोट काँटछाँट गर्ने कार्य भइरहेको बताए।

उनले दुई सयभन्दा बढी बोट लगाएकोमा डेढ सय बोटले फल दिन थालेको जानकारी दिए। उनले जग्गामा स्याउका बोट लगाउने अन्य कुनै पनि रेखदेख नगर्ने तर स्याउका बोटबाट राम्रो फलको आशा गर्ने किसानको बानीमा सुधार ल्याउन आवश्यक रहेको भन्दै उक्त कार्य अत्यावश्यक रहेको बताए।

किसानले यसको महत्त्व बुझ्दै जान थालेपछि कृषि प्राविधिकको सुझावका आधारमा स्याउको फल दिने बिरुवाको काँटछाँटमा किसान लाग्नु सकारात्मक कार्य भएको उनले बताए।

जिआईजेटको आर्थिक सहयोगमा कृषि क्षेत्रमा काम गर्दै आएको ग्रेप परियोजनाका कृषि प्राविधिक राजन शाहले राम्रो फलका लागि बर्सेनि बोट काँटछाँट गर्नुपरेकोे बताए। यो कार्यक्रमका लागि सो परियोजनाले पनि सहजीकरण गर्दै आएको छ।

साथै, आवश्यक औजार पनि किसानलाई सहयोग गरेको छ। उनले गुणस्तरीय स्याउ उत्पादन गर्न र ठूला दाना फलाउन स्याउका बोट काँटछाँट गर्नु आवश्यक रहेको बताए।

स्याउ खेतीका लागि किसानले गर्नै पर्ने काममा बोट काँटछाँट रहेको भन्दै यसरी बिरुवालाई रेखदेख नगर्ने हो भने राम्रो फलको आशा गर्न नसकिने उनले बताए। हुम्लामा स्याउ खेती गर्ने किसानले गोडमेल, मलजलको समेत व्यवस्था नगरीकनै स्याउ खेती गर्दै आएका छन्।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्