नेपालगञ्ज – मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन्। छात्रातर्फ मनकामना मावि, खजुरा फाइनलमा पुगेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगञ्ज मोडेलले कृष्ण माविलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित ग¥यो। ४५ मिनेटमा आशिष सुनारले गरेको गोल नै निर्णायक भएको थियो। सेन्ट जेभियर्सका आशिष सुनार म्याद अफ द म्याच भए। उनलाई केएल दुग्गडका कार्यकारी प्रवन्धक प्रदीप छाजेडले पुरस्कृत गरे।

अर्को खेलमा नेपालगञ्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित गर्‍यो। निर्धारित समयमा दुवैतर्फबाट दुई/दुई गोल गरेका थिए। ७ मिनेटमा रब्बु मल्लको गोलबाट मोडेलले अग्रता लिएको थियो। १८ मिनेटमा कृष्ण माविका निर्मल परियारले गोल गरेर बराबरी गरे। २७ मिनेटमा योगेश शाही ठकुरीको गोलबाट पुनः मोडेलले अग्रता लियो। ४३ मिनेटमा विकाल बाह्रघरेले गोल गरेर कृष्ण माविलाई बराबरीमा ल्याए।

ट्राइबेकरमा मोडेलका विनोद शाही, रब्बु मल्ल र रुपेश बोहराले गोल गरे। कृष्ण माविका निर्मल परियार, विशाल बाह्रघरे र विनोद सार्कीले गोल गर्न सकेनन्। मोडेलका गोकर्ण पुनमगर म्यान अफ द म्याच भए। उनलाई भेरी अस्पताल नेपालगञ्जका पूर्व मोडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईले पुरस्कृत गरे।

छात्रातर्फ मनकामना मावि खजुरा फाइनलमा पुगेको छ। जनसेवा मावि, गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै मनकामना फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरेका थिए। मनकामनाका लक्ष्मी विकले २२ मिनेटमा गोल गरेकी थिइन् भने जनसेवाका पुष्पा कामीले ४० मिनेटमा गोल गरेकी थिइन्।

ट्राइबेकरमा मनकामनाका स्मारिका बुढाक्षेत्री, लक्ष्मी विक, वर्षा बुढामगर र सुस्मिता रोकायले गोल गरेका थिए। संगीता पुनमगर र विनिता चलाउनेले गोल गर्न सकेनन्। जनसेवाका पुष्पा कामी, ज्योति कँडेल र विनिता विकले गोल गरेका थिए भने करुणा न्यौपाने, सदिक्षा बोहरा र दिलकुमारी रानाले गोल गर्न सकेनन्।

अब उपाधिका लागि मनकामनाले नेपालगञ्ज मोडेल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। छात्र र छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।

प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन्। प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन्।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्