संसद क्यालेण्डरमा पहिलो गाँसमै ढुंगा: महिनाभरमा जम्मा पाँच दिन बैठक

काठमाडौँ – नेपालको संसदीय अभ्यासमै पहिलोपटक प्रतिनिधिसभा र राष्ट्रियसभालाई क्यालेण्डर बनाएर चलाउने तयारी गरिएको छ।

पहिलो गाँसमै ढुंगा भने जस्तै नेपालको संसद अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको संसदलाई व्यवस्थित गर्न पहिलोपटक बनाइएको कार्यतालिकामा एक महिनामा जम्मा पाँच दिन मात्रै बैठक सञ्चालन गर्ने उल्लेख छ।

सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै दुवै सदनले माघ र फागुन महिनाका लागि क्यालेण्डर सार्वजनिक गरेका छन्।

सार्वजनिक गरेको क्यालेण्डर अनुसार माघमा जम्मा दुई दिन प्रतिनिधिसभाको बैठक बस्ने उल्लेख छ। भने फागुनमा पाँच दिन मात्रै बैठक बस्नेछ। माघमा सोमबार अधिवेशनको पहिलो बैठक बसेपछि बुधबार बस्नेछ।

फागुनमा ६, १०, ११, १३ र १४ गते मात्रै बैठक बस्ने क्यालेण्डरमा जनाइएको छ। संसदका कार्यवाहक महासचिव पदम पाण्डेले हप्तामा तीन दिन फुल हाउसको बैठक र तीन दिन विषयगत समितिको बैठक बस्ने गरी कार्यतालिका बनाउने बताए पनि त्यसलाई अनुशरण गरिएको छैन।

विपक्षी एमालेका सांसद ठाकुर गैरेले महिनाभरमा जम्मा पाँच दिन बैठक बस्ने गरी तयार पारिएको क्यालेण्डर पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे। सोमबार संसद बैठक पछि उनले भने, ‘क्यालेण्डर त महिनामा जम्मा पाँच दिन बैठक बस्ने गरी बनेछ। त्यो पनि कार्यान्वयन कसरी होला?’

महिनाभरमा जम्मा पाँच दिन बैठक बसे पनि सांसदहरुले महिनाभरिकै पारिश्रमिक पाउनेछन्।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्