असल अभ्यास गर्ने विद्यालय कर्णालीमा सीता मावि पहिलो

सिमकोट – असल अभ्यास गर्ने विद्यालयमा हुम्ला जिल्लाको सीता माध्यमिक विद्यालय कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा पहिलो भएको छ। ०८९/८० मा शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सात वटै प्रदेशका २१ वटा उत्कृष्ट सामुदायिक विद्यालयलाई कार्य सम्पादन मूल्यांकन तथा स्थलगत अध्ययनका क्रममा प्राप्त गरेको नम्बरसहित सूचीकृत गरेको हो।

शिक्षा विकास तथा समन्वय इकाइले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका ६० जिल्लाका चार हजार ८६७ वटा विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा उच्च अंक प्राप्त गर्ने विद्यालय मध्य कर्णाली प्रदेशबाट खार्पुनाथ गाउँपालिका– ४ को सीता मावि कर्णाली प्रदेश मै पहिलो भएको जनाएको छ।

बढी अङ्क ल्याउने कर्णालीको सीता माविले ८२ दशमलव तीन अङ्क प्राप्त गरेको छ भने दोस्रोमा सुर्खेतको सुर्य प्रकाश मावि पलटेले ७९ दशमलव तीन अङ्क प्राप्त गर्दै द्धितीया र सुर्खेत कै जनसेवा माविले ७६ अङ्क प्राप्त गरेर तृतीया भएको छ।

केन्द्रले असल अभ्यास गर्ने विद्यालयहरुको छनौटको आधारहरुमा विद्यालयमा बालबिकास केन्द्रको व्यवस्थापन, बिधार्थी बिबरण, परिक्षाको नतिजा बिबरण, शिक्षक बिबरण कर्मचारी बिबरण, विद्यालय व्यवस्थापन समिति गठन र बैठक व्यवस्थापन, लेखा परिक्षण तथा समाजिक परिक्षण, शिक्षक अभिभावक संङ्घ गठन तथा बैठक व्यवस्थापन, विद्यालयको भौतिक अवस्थाको विवरण, शैक्षिक सूचना तथा सञ्चार प्रबिधिको प्रयोग, केन्द्रबाट प्राप्त अनुदानको व्यवस्थापन, सह तथा अतिरिक्त क्रियामलाप सञ्चालन, अभिलेख व्यवस्थापन कार्यान्वयन, अभिभावक भेटघाट तथा अन्तरक्रिया सञ्चालन, अन्य थप कार्य र कार्यसम्पादन मूल्याङ्कन सहित सोह्र वटा सूचकलाई तय गरेको थियो।

यिनै आधारमा देशभरका असल अभ्यास गर्ने विद्यालय छनौट गरेको हो। २०७८ सालमा केन्द्रबाट आएको टोलीले स्थलगत रुपमा अनुगमन गर्दै जिल्लास्तरमा छनौट गरेको थियो। गतवर्ष त्यसैलाई प्रदेश स्तरमा छनोट गरेर यस वर्ष राष्ट्रिय स्तरमा विद्यालयलाई छनौट गरेको हो। कर्णाली मै असल अभ्यास गर्ने पहिलो विद्यालयका रुपमा छनौट भएपछि उक्त विद्यालयका प्रधानाध्यापक जुनराज हमालले थप काम गर्ने उत्प्रेरणा मिलेको बताए।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्