लिमीको जाङ गाउँ पाँच परिवारमा सीमित

सिमकोट– हिमालपारिको गाउँको रुपमा चिनिँदै आएको नाम्खा गाउँपालिका– ६ को जाङ गाउँ पाँच परिवारमा सीमित हुँदै आएको छ। गाउँ अन्य स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सीमित परिवार बस्दै आएका हुन्।

लिमी स्वास्थ्य चौकीका इञ्चार्ज गोर्ख भण्डारीले ४० भन्दा बढी घरधुरी रहेको लिमीको जाङ गाउँ हाल पाँच परिवारमा मात्र सीमित भएको बताए।

अन्य घरपरिवार घरमा ताला लगाएर सबै काठमाडौंतर्फ लागेका छन्। उक्त गाउँबाट बर्सेनि अस्थायी बसोवास काठमाडौँ हुने गरेकोमा यस वर्ष धेरैले अस्थायी वसोबास सारेका छन्।

अधिकांश घरमा ताला लगाएको देखिनु सामान्यजस्तै भएको छ। ताला लगाएका घरधुरीले भने पशुबस्तु हेर्ने जिम्मा गाउँमा बस्दै आएका परिवारलाई लगाइएको छ। गाउँमा बस्दै आएका पाँच परिवारका पनि बाह्र जना मानिस गाउँमा बसेका छन्। अघिल्लो वर्ष उक्त गाउँमा बालबालिका नभएपछि विद्यालय पनि बन्द गरिएको थियो।

उक्त गाउँमा दुई जना मात्र बालबालिका थिए। स्थानीय सहरमुखी भएपछि गाउँ रित्तिनु सामान्यजस्तै भएको छ। दुर्गम गाउँमा दुःख गरी बस्नुभन्दा शहरमै ब्यापार व्यवसाय गरेर बस्ने संख्या बढेपछि लिमीका गाउँ मानिस बस्नबाट टाढिँदै गएको देखिन्छ।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्