सौराहा दक्षिण एसियाली फिल्म महोत्सवमा लक्ष्मण सुवेदीकाे ‘सतिदेवी’ उत्कृष्ट

काठमाडाैं- लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ फिल्म उत्कृष्ट घोषित भएको छ।

क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा भएको महोत्सवमा सतिदेवी उत्कृष्ट फिल्म घाेषित भएकाे हाे।

‘सतीदेवी’ ले उत्कृष्ट फिल्मको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ।

यसैगरी, यही फिल्मबाट सुवेदीले निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट फिल्म निर्देशकको अवार्ड पनि जितेका छन्।

साेमबार सम्पन्न भएकाे समारोहमा निर्देशक सुवेदीलाई निर्देशक शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मी र छोरा अभिषेक रेग्मीले अवार्ड प्रदान गरेका थिए।

महोत्सवमा उत्कृष्ट वृत्तचित्र अवार्ड सचिन घिमिरे र गौरव केसी निर्देशित ‘म अलप हुन चाहन्छु’ ले प्राप्त गरेको छ। वृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेको छ।

उत्कृष्ट लघु फिल्मको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ ले प्राप्त गरेको छ। यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ। उत्कृष्ट सम्पादकको अवार्ड ‘नाँगो गाउँ’ बाट बनिश शाहले जिते।

उत्कृष्ट सिनेमाटोग्राफरको उपाधि ‘विच्छेद’ बाट संकल भुजेलले प्राप्त गरेका छन भने यसै फिल्मबाट सर्वोत्कृष्ट फिल्म लेखनको उपाधि सत्यराज चौलागाईं र मुकुन भुषालले प्राप्त गरेका छन्।

यस्तै, ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठ निर्देशित गीति फिल्म ‘भाग्य’ ले जितेको छ।

महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दाबढी फिल्मले सहभागिता जनाएकोमा २० वटा फिल्म प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए।

माघ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्