जापानद्वारा नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण

काठमाडौं- जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेको छ।

नेपालका लागि जापानका राजदुत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेकाे हाे।

काठमाडौंस्थित जापानी राजदुतावासमा भएको कार्यक्रममा सो पोशाक हस्तान्तरण गरिएको थियो।

बेइजिङमा २००८ मा भएको ओलम्पिकमा भाग लिएका देवु थापाको समेत हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो।

जापान सरकारको खेलकुद कुटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामुलक संस्था जुडोजले जुडो पोशाकहरु उपलब्ध गराएको हो। नेपालमा जुडोको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

यस अवसरमा राजदुत किकुटाले जुडोको दैनिक अभ्यासबाट युवा जुडो खेलाडीहरूले जुडोमा सीप मात्रै नभई स्वस्थ शरीर र अदम्य मनोभावका साथै शिष्टाचार पनि सिक्न सक्ने कुरामा जोड दिए।

त्यसैले जुडोले युवाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास छ।

आज हस्तान्तरण गरिएको जुडो पोशाकले नेपाली जुडो प्रेमीहरूको उत्साहलाई बढावा दिनुका साथै नेपालको भविष्यका रूपमा रहेका नेपाली युवाहरूको स्वस्थ विकासमा सकारात्मक भुमिका खेल्ने जापानी दूतावासले अपेक्षा गरेको छ।

जापानको सद्भावनाले हाम्रा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनु भयो।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्