नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते हुने

फाइल फोटो

काठमाडौँ – नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले उक्त जानकारी दिएका हुन्।

उनले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको बताए। उनले मुख्य सुरुङ २.६८८ किमिमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताए। उनले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौँतर्फ केही मुआब्जालगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताए।

उनले अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको बताए। उनले समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको बताए।

उनले एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको बताए। डुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिए।

उनले भने,‘विभिन्न कम्पनेन्ट ब्रिक डाउन गर्दा आयोजनाको हालसम्मको प्रगतिमा ६८.५ प्रतिशत सुरुङ मार्गलगायतमा खर्च भएको छ। घर टहराको ९५ प्रतिशत मुआब्जा पूरा भएको छ तर थोरै मात्रै मुआब्जाको समस्या बाँकी छ। मुख्य सुरुङ मार्गको ब्रेक थ्रु मार्च ६ मा राख्ने तयारी रहेको छ। हालसम्म ३२ मिटर मात्रै सुरुङ खान्न बाँकी रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४४ प्रतिशत काम भएको छ।’

समिति बैठकमा सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्नेलगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाईलाई अगाडि बढाउनुपर्ने धारणा राखे।

नागढुङ्गा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसहेको छ। २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो। नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्