माओवादीले बजेटका सिद्धान्त र प्राथमिकताबारे पार्टीका सांसदलाई प्रशिक्षण दिने

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरुलाई निर्देशन दिएको बताए।

उनले सरकारले यही अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गराउन लागेको र सोबारेमा संसदमा छलफल गर्नुअगाडि दलका सांसदहरुलाई अन्तर्क्रियासहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको बताए।

उनले फागुनको १४ भन्दाअघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको बताए। उनले बैठकमा अध्यक्ष दाहालले सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायबारे आवाज उठाउन सदस्यहरुलाई निर्देशन दिएको बताए।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्