हाइप्रोफाइल अभियुक्तको हिरासत नै सुविधासम्पन्न अस्पताल

गत विहीबार व्यवसायी अरुण चौधरी पक्राउ परेलगत्तै प्रहरी थुनामा गएनन्, महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भए। चिरायुमा सामान्य चेकजाँचपछि उनी राजधानी धापासीस्थित सुविधासम्पन्न अस्पताल ग्राण्डीमा रिफर भए। उनी अहिले पनि ग्राण्डी अस्पतालको भिआइपी कक्ष (कोठा नम्बर ९१५) मा उपचाररत छन्।

चौधरीको स्वास्थ्य अवस्थाबारे न प्रहरी र न चिकित्सकले नै प्रष्ट पारेका छन्। चौधरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि पक्राउ परेका हुन्। प्रहरीले चौधरीसँगै सोही घटनाको अनुसन्धानका लागि बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि पक्रेको छ।

थापा पनि चौधरीसँगै ग्राण्डी अस्पतालकै भिआइपी कक्षमा उपचाररत छन्। चौधरी र थापालाई पक्रिनुको कारण खुलेजस्तै चिरायु अस्पताल हुँदै ग्राण्डीसम्म स्वास्थ्यसम्बन्धी कस्तो समस्या देखिएर उपचारको लागि पुगेका हुन्, त्यो प्रष्ट हुन सकेको छैन। चिकित्सकले चौधरीलाई सुगर/प्रेसर र थापालाई मुटुको समस्या देखाइदिएका छन्।

प्रहरीले दिएको औपचारिक सूचनाअनुसार चौधरी र थापालाई पक्राउ गरेपछि स्वाथ्य परीक्षणको लागि चिरायु अस्पताल लगिएको हो। त्यसपछि चिरायु अस्पतालले नै स्वास्थ्यमा समस्या देखाउँदै थप उपचारको लागि ग्राण्डी अस्पतालमा रेफर गरिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता नवराज अधिकारीले देशसञ्चारसँग भने, ‘सिआइबीले पक्रिएपछि सुरुमा चिरायु अस्पतालमा लगेर सामान्य स्वास्थ्य जाँच गराएको र त्यसपछि आवश्यकता अनुसार उपचारको लागि चिरायु अस्पतालले अन्य अस्पतालमा रेफर गरेको हो।’

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। त्यसपछि दुई दिन समय थपेर अनुसन्धान सकिए पनि वा बाँकी नै रहे पनि बुधबारसम्म उनीहरुलाई छाडिदिन अदालतले प्रहरीलाई आदेश दिएको छ।

पक्राउ परेपछि अस्पताल भर्ना हुनेहरूको सूचीमा अरुण चौधरी र अजितमान सिंह थापाको नाम थपिएको मात्रै हो। ‘हाइ प्रोफाइल’ लाई अदालतले पक्राउ पूर्जी जारी गरेर प्रहरीले पक्रिएपछि एकाएक बिरामी हुने गरेको घटना यो पहिलोपटक भने होइन। पक्राउ पुर्जी जारी गरेपछि सामान्य चेकजाँचको लागि प्राय: अस्पताल नै लैजाने गरिएकोमा ‘हाइ प्रोफाइल’ले आफ्नै च्यानलमा वा अस्पतालकै सहयोगमा सुविधासम्पन्न अस्पतालमा भर्ना हुने गरेका प्रहरी स्रोतले जनाएको छ।

पक्राउ पूर्जी जारी भएपछि पूर्वसभामुख कृष्णबहादुर महरादेखि अभिनेता अनमोल केसीसम्म अस्पताल भर्ना भएका थिए।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर २०७६ असोज १९ मा सभामुखको निवासबाटै पक्रिएको थियो। उनी हिरासत छल्न २४ दिन अस्पतालको क्याबिनमा बसेका थिए।

आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गत असोज महिनामा चिरायु अस्पतालमा भर्ना भएका थिए।

यतिसम्म कि बुढानीलकण्ठ सडक दुर्घटनाका अभियुक्त पृथ्वी मल्लले त आफ्नो हिरासतको अधिकांश समय अस्पतालमा बिताएका छन्। २०७६ साल मंसिर मसान्ततिर मादक पदार्थ सेवन गरी सवारी चलाई गोरखाकी लीला देवकोटालाई ठक्कर दिएर मारेका मल्ल हिरासत अवधि छल्न धेरै पटक चिरायु अस्पताल नै भर्ना भएका थिए।

राष्ट्रका उच्च पदस्थ भनिएका व्यक्तिहरुमाथि पक्राउ पुर्जी जारी हुँदा थुनामा जानुको साटो पैसा र शक्तिको आडमा अस्पताल जाने प्रवृत्ति ६/७ वर्ष यता ह्वात्तै मौलाएको एक पूर्व एआइजी बताउँछन्।

उनले देशसञ्चारसँग भने, ‘पक्राउ पूर्जी जारी भएपछि अस्पताल भर्ना हुने प्रवृत्ति पहिला थिएन, ६,७ बर्ष यता ह्वात्तै बढेको हो। ४० वर्ष उमेर कटेपछि उच्च रक्तचाप,थाइराड, रक्तचाप कम हुनु वा कुनै न कुनै समस्या देखिनु सामान्य हो। सिआइबीको कनेक्सन भएको नजिकको अस्पताल चिरायु हो। सिआइबीले सुरुमा चिरायु राख्छ, चिरायुमा एउटा न एउटा डाक्टर चिनेको हुन्छ, उसले एउटा स्वाथ्य समस्या देखाइदिन्छ, त्यसपछि सुविधासम्पन्न अस्पताल भर्ना हुन्छन्, चिरायुमा ठूलो डाक्टर आएर स्वास्थ्य जाँच गरेर रेफर गर्ने भन्ने केही पनि हुँदैन। विशुद्ध पहुँच र पैसाको भरमा भिआइपीहरु अस्पताल बस्ने गरेका छन्।’

‘पक्राउ पुर्जी जारी भएको भिआइपीलाई सिआइबीमा राख्दा प्रहरी उच्च स्रोतको निगरानी हुन्छ। भेट्न आएकाहरुसँग सीमित समय कुराकानी हुन्छ। सुविधा हुँदैन।’ सिआइबीले भिआइपीलाई बिरामीको रुपमा चिरायु अस्पतालमा नै पठाउने सम्झौता समेत भएको हुनसक्ने ती पूर्व एआइजीले संशय व्यक्त गरेका छन्।

शक्तिको आडमा भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङ हिरासत छल्न झण्डै ६० दिन त्रिवि शिक्षण अस्पतालको क्याबिनमा भर्ना भएका थिए। यस्तै २०७६ साल कात्तिकमा दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेका २५ जुवाडेमध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्कीलगायत ८ जना राजधानीकै ह्याम्स अस्पताल भर्ना भएका थिए।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतानलगायत पनि अस्पतालमा बसेका थिए।

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा स्वाथ्यमा समस्या देखिएको बहानामा वीर अस्पताल र नर्भिकमा भर्ना भएका थिए। विदेश पठाइदिने, जागिर लगाइदिने र उद्योग खोलिदिनेसम्मको प्रलोभन देखाएर ७० करोड ठगेको आरोपमा २०७६ साल मंसिरमा पक्राउ परेका दोलखाका दिनेश कोइराला पनि अस्पतालमा बसेर अदालतमा हाजिर भएका थिए।

२०७८ साल कात्तिक तिहारमा जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हिरासत छल्न जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका थिए। यस्तै बलात्कारको आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेका थिए भने अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह पनि अस्पतालमा बसेकी थिइन्।

अर्का एक पूर्व एआइजी पछिल्लो एक दशक यता पक्राउ पुर्जी जारी भएका अधिकांश भिआइपी अस्पताल भर्ना हुँदा विकृति बढेको बताउँछन्।

उनले देशसञ्चारसँग भने, ‘कैलाश सिरोहियालाई पक्रिएको केस हेर्नुपर्दा उनलाई हस्पिटल लगेनन्, कस्टडीमा राखे, विनोद ज्ञवाली, चिरन्जीवी वाग्ले उनीहरु कहिल्यै पनि हस्पिटल गएनन्, जयप्रकास गुप्ता, खुमबहादुर खड्काजस्ता मन्त्री बनेका पात्रहरु पनि पक्राउ पुर्जी जारीपछि हस्पिटल गएनन्, खड्का त किड्नीका बिरामी थिए तर हस्पिटल गएनन्, खड्का कस्टडीमा बसेका थिए।’

उनका अनुसार हिरासत छल्न अस्पताल जानुको प्रमुख कारण पक्राउ परेको व्यक्तिले उसले चाहेको व्यक्तिसँग भेटघाट, कुराकानी गरेर मुद्दा कमजोर पार्न खोज्नु हो।

उनले थपे, ‘पक्राउ पुर्जी जारी भएको भिआइपीलाई सिआइबीमा राख्दा प्रहरी उच्च स्रोतको निगरानी हुन्छ। भेट्न आएकाहरुसँग सीमित समय कुराकानी हुन्छ। सुविधा हुँदैन।’ सिआइबीले भिआइपीलाई बिरामीको रुपमा चिरायु अस्पतालमा नै पठाउने सम्झौता समेत भएको हुनसक्ने ती पूर्व एआइजीले संशय व्यक्त गरेका छन्।

उनले देशसञ्चारसँग भने, ‘सिआइवी नजिकैका अस्पतालमा लैजाने हो भने टिचिङ पनि थियो तर चिरायु प्राइभेट अस्पताल भन्नेबित्तिकै भर्ना पनि गरिदिने भयो, बेड खाली, रुम खाली हुन्छ। भिआइपी जुवाडेदेखि नेतालाई चिरायुमा लगेर स्वास्थ्य जाँच हुन्छ। बिजनेस भयो, क्याबिन महङ्गो भयो। विरामी नै भएको भए त नजिकैको टिचिङ लैजान पनि सकिन्थ्यो होला तर सिआइबीले चिरायुमा नै पठाउने गरेको छ।’

 

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्