‘संघीयता र धर्म निरपेक्षतासम्बन्धी कानून छिटो निर्माण गरौँ’

काठमाडौँ – पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले संघीयतासम्बन्धी कानून छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने बताएकी छन्।

संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार यससम्बन्धी तत्काल कानून निर्माण गरी कार्यान्वयनमा जान ढिलाई गर्न नहुने उनको तर्क थियो।

मंगलबार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै पूर्वसभामुख घर्तीले संसदमा वर्तमान शासन व्यवस्थाबारे राजनीतिक दलहरुले घनिभूत छलफल गर्नुपर्ने आवश्यकतासमेत औंल्याइन्।

जनता र जनप्रतिनिधिहरुबीचको ग्यापको कारण पनि संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेहरुलाई बल पुगेकाले संसदमा त्यस्ता भ्रम चिर्ने गरी छलफल गर्नुपर्ने उनले बताइन्।

उनल भनिन्, ‘हामीले चाँडोभन्दा चाँडो संघीयताको संविधानमा जे व्यवस्था गरिएको छ, त्यो व्यवस्थालाई कार्यान्वयन गरौँ। यो हदसम्म आउँदाखेरी पनि हामीले अहिले निजामती ऐन, प्रहरी ऐन, धर्म निरपेक्षतासम्बन्धी पनि भयंकर प्रश्न उठेको छ। यसमा पनि हामीले ठोस कानूनी व्यवस्था गरेका छैनौँ। यस्ता कानूनी व्यवस्थाहरु चाहिँ चाँडोभन्दा चाँडो गर्नुपर्छ।’

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्