जंगली जनावरपीडित ठोरीका किसानको गुनासोः लालपुर्जा नहुँदा क्षतिपूर्ति पाइएन

वीरगञ्ज – पर्साको ठोरी गाउँपालिकामा जंगली जनावरले आतंक मच्चाइरहेका छन्। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्तीलगायतका जनावरले किसानको बालीनाली र पशु चौपायामा क्षति पुर्‍याउने गरेका छन्।

सोही क्रममा सोमबार बिहान साढे २ बजे ठोरी गाउँपालिका–४ का सुनबहादुर तामाङको खोरमा पसरे चितुवाले बोका मारिदिएको छ। जंगलबाट आएको चितुवाको आक्रमणबाट एउटा बाख्रासमेत घाइते भएको कुसुमबाटिका उपभोक्ता समितिका संरक्षक बुद्ध पाख्रिनले जानकारी दिए।

बाघ र चितुवाले पशुचौपाय मार्ने क्रम बढेकोले सबै कृषकहरु सचेत भइ पशुचौपायालाई सुरक्षितसाथ राख्न पाख्रिनले अनुरोध गरे। वर्षेनी जंगली जनावरले पशु र बालिनालीमा क्षति पुर्‍याउँदा पनि क्षतिपूर्ति नपाएको उनले बताए।

जंगली जनावरले घरमा राखेको बाली नष्ट गरेमा डिभिजन वन वा निकुञ्ज कार्यालयले सहजै क्षतिपूर्ति दिने तर खेतमा लगाएको अन्नबालीको भने क्षतिपूर्ति पाउन कठिन भएको पाख्रिनको भनाइ छ।

वर्षौदेखि बसोबास गर्दै आएका वडा नम्बर ४ का दुई सय घरधुरीहरुले बाली लगाउने खेतको लालपूर्जा नभएका कारणले क्षतिपूर्ति पाउन नसकेको उनले बताए। खेतमा बाली लगाउँदै आएको भए पनि सरकारले खनजोत गरिरहेको खेतको लालपुर्जा हालसम्म पनि नबनाइदिएकोले जंगली जनावरहरुले अन्नबाली नष्ट गरिदिँदा पनि किसानले क्षतिपूर्तिबापतको रकम पाउन नसकेको उनले बताए।

पर्साको राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको ठोरी गाउँपालिकासँगै, जिराभवानी, सखुवा प्रसौनी गाउँपालिकाका किसानको पनि समस्या उस्तै छ।

डिभिजन वन कार्यालय पर्साले भने जंगली जनावरहरुबाट किसानको बालीनाली बचाउनको लागि तारबार लगाउन नसकिएको तर किसानहरुलाई लालपुर्जाको आधारमा क्षतिपूर्ति दिने गरिएको बताएको छ।

जंगली जनावरले क्षति गरेको खण्डमा वा कसैको ज्यान लिएको खण्डमा क्षतिपूर्ति दिने गरेको डिभिजन वन पर्साका प्रमुख सुवासचन्द्र दासले बताए।

उनले गत महिना बाघले पटेर्वा सुगौली गाउँपालिकामा एक जनाको ज्यान लिएकोमा कार्यालयले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि काम अघि बढाएको जानकारी दिए।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्