हुम्लामा प्रहरीले समातेका १४ वटा मोटरसाइकल लिन कोही आएन

सिमकोट- दक्षिणी हुम्लाको सर्केगार्ड गाउँपालिका– १ र ४ मा प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन्।

नम्बर प्लेट नभएका र बिना लाइसेन्सका चालकले सञ्चालन गर्दै आएको ती मोटर साईकललाई प्रहरीले नियन्त्रणमा लिएपछि लामो समयसम्म फिर्ता लिन कोही नआएपछि मोटर साइकलहरु कबाडीमा परिणत हुन लागेका हुन्।

अस्थायी प्रहरी चौकी बालुकुना तुम्चका प्रहरी सहायक निरीक्षक बीरबहादुर चन्दका अनुसार मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको एक वर्षभन्दा बढी समय भएपछि कोही पनि लिन नआउँदा कबाडीमा परिणत हुन थालेका छन्।

उनले राख्ने ठाउँ नभएको कारण खुला स्थानमा राखिएको र बर्खामा पानीले समेत क्षति पुर्‍याएको बताए।

बिना लाइसेन्स र नम्बर प्लेटका मोटर साइकल चलाएको पाएपछि एक वर्ष अगाडि सलीसल्लादेखि बालुकुना, तुम्च क्षेत्रबाट छ वटा मोटर साइकल प्रहरी नियन्त्रणमा लिएको थियो । मोटर साइकल नियन्त्रण लिएपछि चालकहरुलाई आफूसँग भएको प्रमाण पेश गर्न र आफ्नो बाइक लैजान पटक पटक जानकारी गर्दा पनि कोही लिन नआएको कारण हाल मोटर साइकललाई सुरक्षित राख्न प्रहरीलाई समस्या भइरहेको छ ।

प्रमाण नै ल्याउन नसकेको कारण यी मोटर साइकल चोरीका हुन सक्ने देखिएका छन्।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरुले पठाओका रुपमा दक्षिणी क्षेत्रमा चर्को भाडा लिएर यात्रुहरु बोक्दै आएका थिए ।

त्यसैगरि प्रहरी चौकी सर्केगार्डमा प्रहरी नायव निरीक्षक परशुराम न्यौपानेले पनि सो क्षेत्रबाट आठ वटा मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको तर हालसम्म कोही पनि फिर्ता लिन नआएको कारण मोटर साइकलहरु जिर्ण अवस्थामा पुगेको बताए ।

सलीसल्लाबाट सर्केगार्ड हुँदै दुल्ली कुनासम्म यात्रु बोक्दै आइरहेको अवस्थामा मोटर साईकल प्रहरीले नियन्त्रणमा लिएका हुन्।

उक्त प्रहरी चौकीले आठ वटा मोटरइकलहरु नियन्त्रण लिएको छ । दुवै प्रहरी चौकीमा गरी हाल १४ वटा मोटेर साईकलहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन्।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्