मित्रमिलन सहकारी हिनामिना प्रकरणः पिएन क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ

पोखरा – पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीका बचत हिनामिनामा संग्लन भएको आरोपमा थप एक जना पक्राउ परेका छन्।

सहकारी ठगीको आरोपमा फरार भएका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापकसमेत रहेका विष्णुप्रसाद भण्डारीलाई प्रहरीले सोमबार राती पक्राउ गरेको हो।

पोखरा महानगरपालिका–२३ ठूलाखेत घर भएका उनी मालेपाटनमा डेरामा बस्दै आएका थिए। उनलाई डेराबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीबाट सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

‘आज अदालतमा उपस्थित गराएका थियौँ। वयान नसकिएकाले प्रहरीको हिरासतमै राखेका छौँ’, उनले भने।

मित्रमिलन सहकारी प्रकरणमा पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा पत्रकार अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायतलाई पक्राउ ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित सहकारीको क्षेत्र विस्तारको क्रममा घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल, लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी यसअघि नै पक्राउ परेका थिए।

हालसम्म ८ जना पक्राउ परेका छन्। लेखा समिति संयोजक अधिकारी धरौटीमा रिहा भएका छन् भने अन्य ६ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ।

३ हजार ४४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको दाबीसहित सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता गराएको हो।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्