केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग

फाइल तस्बिर।

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

मंगलबार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएका केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो।

महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रुपमा नेपालभित्र नभित्रिने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरुको अर्बाैं रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो।

महासंघले व्यवसायीहरुलाई सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो। महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरु मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताए।

उनले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरु आफै जान नपाउँदा व्यवसायीहरु समस्यामा रहेको बताए। उनले चीनबाट आयात हुने सामानहरु नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरु नाका पारी जान नपाउने बताए।

उनले समान ढुवानी गर्न ट्रकमा सामान लोड गर्नसमेत सम्बन्धित जिल्ला र स्थानीय सवारी साधन लैजानुपर्ने एकाधिकार हटाउन माग गृहमन्त्रीसँग गरिएको उल्लेख गरे।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्