स्क्वायर होटलकी अर्की सञ्चालक रोमी अर्याल पनि पक्राउ

काठमाडौँ- ललितपुरको पुल्चोकस्‍थित स्क्वायर होटलकी सञ्चालक रोमी अर्याललाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अर्याल सोमबार पक्राउ परेकी हुन्। उनी आफैँ परिसरमा उपस्थित भएकी थिइन्।

पाँच महिनाअघि जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य पुल्चोकस्थित स्क्वायर होटलमा स्विमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। यद्यपि होटल व्यवस्थापनले भने शाक्य आफैँ बिरामी भएको जिकिर गरेको थियो। आफन्तहरुको दबाबका कारण प्रहरीले ढिला गरी स्क्वायर होटलबिरुद्ध जाहेरी दर्ता गरेको थियो।

यसअघि प्रहरीले होटलकी सञ्चालक ललिता भण्डारीलाई पक्राउ गरेको छ। भण्डारी रोमीकी सासु हुन्।

प्रहरीले ज्यान मार्ने कसुरमा यस घटनामा अनुसन्धान गरिरहेको छ।

मंगलबार शाक्यका आफन्तहरुले स्क्वायर होटलअगाडि प्रदर्शन गर्दै दोषीलाई कारबाही गर्नका साथै होटल नै बन्द गर्न माग गरेका छन्।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्