विराटनगर महानगरपालिकाद्वारा क्षयरोगका बिरामीलाई खाद्यान्न सहयोग

मोरङ – विराटनगर महानगरपालिकाले क्षयरोगका बिरामीलाई खाद्यान्नसहित सहयोग उपलब्ध गराएको छ।

मंगलबार महानगरपालिकामा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउँदै मेयर नागेश कोइरालाले क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरे निको हुने बताए।

कुनै पनि रोग निको हुन पोषणयुक्त खानेकुरा आवश्यक हुने मेयर कोइराला बताए। महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत ११ जना क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गर्दै मेयर कोइरालाले पोषण खानेकुरासँगै चिकित्सकसँग समन्वयमा बस्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मेयर कोइरालाले २५ किलो चामल, पिठो, दाल, तेल, सोयाविन, चना, अण्डालगायतका खाद्यान्न वितरण गरेका थिए। महानगर स्वास्थ्य महाशाखाका अनुसार महानगरले पोषण खाने कुरा विएनएमटी नेपालसँगको सहकार्यमा ६ महिनासम्म उपलब्ध गराउनेछ।

यससँगै बिरामीको पोषण अवस्थाबारे नियमित स्वास्थ्य परिक्षण हुने महाशाखाले जनाएको छ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्