मोरङको ‘ए’ डिभिजनमा दुई क्लबको बढुवा, ‘बी’ डिभिजनको उपाधिका लागि ग्रामथान र बिसिसिए भिड्दै

मोरङ – विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रामथान क्रिकेट क्लब र विराटनगर क्रिकेट क्लब एकेडेमी भिड्ने भएका छन्।

मंगलबार विराटनगरको बैजनाथपुरस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा मिल्स क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै बिसिसिएले फाइनलमा स्थान पक्का गरेको हो।

टस जितेर ब्याटिङ रोजेको मिल्सले खराब मौसमका कारण १३ ओभरमा ३ गुमाउँदै ९१ रनको योगफल बनाएको थियो। मिल्सका लागि पृथ्वी सुब्बाले २९ र विशाल ढकालले २४ रन बनाए। ९२ रनको लक्ष्य हासिल गर्न मैदान उत्रिएको बिसिसिएले ११ दशमलव ३ ओभरमा २ गुमाएर जित सुनिश्चित गरेको थियो।

बिसिसिएका लागि अर्धशतक प्रहार गरेका राहुल चौधरी प्लेयर अफ द म्याच भए। उनलाई पिचमा धिरज कामत र कृतिक कामतले १७ र १२ रन बनाएर साथ दिएका थिए।

त्यसैगरि, अर्को खेलमा ग्रामथानले बेलबारी क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै फाइलनमा प्रवेश गरेको हो। खराब मौसमका कारण २५ ओभरबाट कटौती गर्दै अघि बढेको खेलमा टस जितेर ब्याटिङ गरेको बेलबारीको टोली २० ओभरमा १ सय १२ रनमा अल आउट भएको थियो।

बेलबारीका लागि प्रिवित भगतले २० र दिपेश सुवेदीले १७ रन बनाए। ग्रामथानका लागि आशिष गुप्ताले ३ विकेट लिए। ग्रामथानले निर्धारित लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो। फाइनलमा प्रवेश गरेको ग्रामथानको जितमा सुमन श्रेष्ठले सर्वाधिक ३३ र अन्जर अलीले १५ रन बनाए।

फाइनलमा प्रवेश गरेको बिसिसिए र ग्रामथान क्रिकेट क्लब जिल्लास्तरीय ए डिभिजनमा बढुवा भएको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैसी बाबुले जानकारी दिए। फाइनलमा प्रवेश गरेका दुवै टोलीले अब ए डिभिजनमा गुराँस क्रिकेट क्बल, होराइन क्रिकेट क्लब, वाईसिसी, पूर्वाञ्चल क्रिकेट क्लब, विनायक क्रिकेट क्लब र एग्रोभेट क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने अध्यक्ष कुरेसीले जानकारी दिए।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्