काठमाडौं- काठमाडौं जिल्ला अदालतको आदेशअनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी रिहा भएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेशअनुसार बुधबार छुटेका हुन्।

चौधरी नेपाली कांग्रेसका सांसदसमेत रहेका व्यवसायी विनोद चौधरीका भाइ हुन्।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ परेका थिए।

 

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्