वर्षमा २ नाटक र ३ फिल्म खेल्छु भनेकाे १३ फिल्म पुग्दाे रहेछ: बुद्धि तामाङ (भिडियो)

लोकप्रिय हास्यकलाकार बुद्धि तामाङ साठीको दशकको सुरुवाततिर रंगमञ्चको ब्याक स्टेज सिँगार्थेँ। नाटकलाई चाहिने प्रप्स, लाइट र कष्टम जुटाउँथे। कथा र निर्देशकले मागेअनुसारको मञ्च तयार गर्थे। यसैमा खुसी थिए उनी। तर समयले उनलाई ब्याक स्टेजमा मात्रै सीमित राखेन। बरु उनले समय क्रमसँगै छलाङ मारे।

अन्तत: बुद्धि आफ्नो समयको उम्दा हास्यकलाकारको रूपमा चिनिए। त्यसैले त यतिखेर चलचित्रकर्मी र नाट्यकर्मीको रोजाइमा उनी परिरहन्छन्। रंगमञ्चका धेरै कलाकार सिनेमातिर लागेपछि निक्कै व्यस्त हुने गर्छन्। सिनेमाबाट राम्रै कमाउन थालेपछि ‘पुअर थिएटर’ मा अल्झिरहन पो कसलाई मन हुन्छ र? तर बुद्धिले भने आफ्नो आधार बिर्सिएका छैनन्।

उनी भन्छन्, ‘रंगमञ्च नै मेरो आधार हो, त्यसैले वर्षमा दुईटा नाटक र तीनवटा जति फिल्म गरौं भन्ने हो तर वर्षमा १३ वटा फिल्म गर्न पुग्दोरहेछु हा हा हाऽ।’

अघिल्लो वर्ष नाटक ‘मितज्यू’मा अभिनय गरेका थिए बुद्धिले, जुन थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो। तर यस वर्ष माघको चिसो दिनमा नाटक ‘मासिन्या’लाई निर्देशन गर्न भ्याए।

हुन त बुद्धिलाई यो नाटकमा अभिनय गर्न मन थियो। अहिले पनि थिएटरको पछाडिको खोपाबाट ‘मासिन्या’मा अभिनय गरिरहेका कलाकार देखेर दिक्क मान्छन् उनी। आफैं अभिनय गर्न उत्रिनुपर्छ कि भन्ने लाग्छ उनलाई। तर निर्देशनको जिम्मा पाएपछि मञ्चमा जाने अवसर गुम्यो। यो जिम्मेवारी पनि ‘टिम लिडर’ भएपछि इमान्दारीसाथ निभाउनै पर्‍याे।

तर बुद्धि निर्देशन कर्ममा साह्रै डराउँछन्। उनी भन्छन्, ‘अभिनयको भोकले मलाई प्ले नै गरौं गरौं लाग्छ। फेरि नाटक मासिन्याको निर्देशक हुन पुग्नु साथीहरूको जोडबलले जुरेको हो। किनकि मेरो स्वभाव निर्देशकको जस्तो छैन, छँदै छैन। हा हा हाऽ।’

बुद्धिका अनुसार निर्देशक ‘कुल’ हुनुपर्छ। ‘ठण्डा दिमाग’ले सोच्ने, सबैलाई रिझाउने, प्रेम बाँड्न सक्ने अर्थात् सर्वज्ञानी। विश्लेषणात्मक क्षमता भएको मानिस निर्देशक हुनसक्ने अनुमान उनी सुनाउँछन्, ‘म अलिकति इमान्दार, सोझो र सन्की स्वभाव भएको मानिस निर्देशनमा काम गर्न सक्दिनँ। मेरो नेचर निर्देशन होइन। त्यसैले त मैले सोनाम लामाको साथ लिनुपर्‍याे मासिन्यामा।’

नाटक मासिन्याको टिमले निर्देशनको जिम्मा अहिलेका चर्चित र व्यस्त अभिनेता दयाहाङ राईलाई दिने सोचमा थियो तर उनकाे व्यस्तताले छनोटमा परे- बुद्धि। साथीसर्कलबाटै निर्देशनको बागडोर समाल्न सिफारिस गरेपछि उनी पछि हटेनन्। उनले ठाने- आफ्नै समुदायको कथामा काम गर्नु अवसर पनि त हो। मासिन्याको अर्थ हुन्छ- मासिने। यो मौलिक शब्द नौलो त होइन तर यसको अर्थ पृथक थियो र छ। उत्पीडतको एउटा पृथक कथा मासिन्या हो।

‘मासिन्या तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप पनि हो,’ बुद्धिले भने, ‘मासिन्या तामाङ जातिको कथा भए पनि नाटकले उठान गरेको व्यथाचाहिं सबैको हो। र, आजको समयमा पनि सान्दर्भिक छ।’

जंगबहादुर राणाले १९१० सालमा मुलुकी ऐन जारी गर्दा मास्नु पर्ने जातिको रूपमा परिभाषित गरेको जाति नै मासिन्या हुन्। थारु, तामाङ, भोटेलाई मासिन्या मतवाली तथा मगर, सुनुवार, गुरुङ, राई, लिम्बूलाई नमासिन्या मतवाली भनेर विभाजन गरिएको थियो जसको प्रभाव अहिलेसम्म पनि यथावत छ। यो कथा आजको समयमा भन्नुको सान्दर्भिकता खोज्ने कुरा फरक कुरा रह्यो तर तामाङ समुदायकै नयाँ पुस्तालाई यो कथा थाहा छ त?

यस्ता खालका अनेक प्रश्न गर्छन् बुद्धि। कवि रावत, लक्ष्मी रुम्बा र राजु स्याङ्तानले मासिन्या नाटक लेखेपछि उनी थप हौसिएका थिए। आफू तामाङ समुदायको भएका कारण आफ्ना पुर्खाले राज्यबाट भोग्नु परेको यातनाको पराकाष्ठा सुनाउन लालायित भए उनी। मासिन्यालाई कलामार्फत् भन्न सक्नु नै ठूलो आँट गरेको उनी सुनाउँछन्, ‘हामीभित्र मासिन्या कानुन लामो समयदेखि खिलजस्तै गढेर बसेको छ। हामीले तामाङ समुदायको दृष्टिकोणबाट सीमान्तकृत र बहिष्कृृत समाजको कथा भन्ने कोसिस गरेका छौं।’

आफू तामाङ भएकोमा कुनै पछुतो छैन बुद्धिलाई तर कुनै समय बोलीकै कारण धेरै नाटकमा अभिनय गर्नबाट बञ्चित हुन पुगेका थिए उनी। तामाङ बोली मुखमा झुन्डिएका कारण पनि भाषिक शुद्धता खोज्ने कलाकर्मीले उनको खुबीलाई चिन्न सकेका थिएनन्। तर रंगमञ्च सिँगार्दै जाने क्रममा आफ्नो बोलीलाई आम नेपालीको बोली बनाउने कोसिस गरे उनले। उनी भन्छन्, ‘मातृ टोन अर्थात् ‘भ्वाइस एण्ड स्पिच’ मा कमजोर थिएँ म, जसका कारण मैले धेरै नाटक गुमाउनु पर्‍याे।’

नाटक मासिन्याको एक पात्रले ‘मातृ टोन’कै कारण नगरेको गल्तीको दुःख पाउन विवश छ। उनी नाटक मासिन्यामार्फत् भाषाको संरक्षणमाथिको वकालत ठान्छन्। उनको अनुसार भाषिक जटिलताले निम्त्याएको उत्पीडन र उनीहरूको सोझो प्रवृत्तिको दुरुपयोगलाई पनि देखाउने कोसिस छ नाटक मासिन्यामा।

‘मासिन्यामार्फत् राज्यलाई झकझकाउने कोसिस हो,’ बुद्धिले भने, ‘मैले वा मेरो बा बाजेले भोगेको कथा भन्न पाए हुन्थ्यो भन्ने थियो। त्यो कोसिस गरिएको हो।’

प्राय: अंग्रेजी या भारतीय नाटककारका नाटक अनुवाद गरी देखाउने गरिन्छ थिएटर घरमा। ती नाटकमा कहिले कलाकार त कहिले मञ्चमा काम गर्दै आएका बुद्धि आफ्नै समुदायको कथा भन्न पाउनुलाई चुनौती र अवसर दुवै लिन्छन्।

विदेशी नाटकको संरचनाभन्दा भिन्न खालको नाटक ल्याउन सकिने बुझाइ छ उनको। भन्छन्, ‘नेपाली संस्कृत, भाषा, जीवनशैली र उत्पीडनका कथा भन्न पाउनु पर्छ।’ र प्राथमिकतामा पर्नुपर्छ भन्ने जोड हो उनको।

अहिले पहिचानको लडाइँ बाक्लो छ। साहित्य सिनेमा र कलामार्फत् उत्पीडित समुदायको कथा उठाइएको अवस्था पनि हो। तर गम्भीर मुद्दाले आम दर्शकको मनस्थितिमा कस्तो खालको उथुलपुथुल ल्याउने हो, यो पनि सोचनीय विषय नै हो। र, बुद्धि यो कुरामा गम्भीर छन्। नाटक मासिन्याले उग्र रूप लिँदैन भन्नेमा ढुक्क भए पनि प्रश्न नआउला भन्न सक्दैनन्।

उनी भन्छन्, ‘कलामार्फत् भनिएका यस्ता मुद्दाले हिंसा त भड्किहाल्दैन तर बहस सिर्जना भने पक्कै गर्ला। र हरेक मान्छेले आफ्नो कुरा भन्ने अधिकार त छ। अब लिनेले कसरी लिन्छन् भन्ने कुरा त पछिको भयो नि।’

बुद्धि आफैंसँग प्रश्न गर्छन्- सीमान्तकृत समुदायको कथा भन्न चुनौती हुँदैन भन्ने होइन तर आफ्नो कथा भन्न किन डराउने?

कलामार्फत् भनिएको कथा समाधानकै माध्यम चाहिँ होइन् र आन्दोलनमा पुर्‍याउने पनि होइन। ‘नाटकले उठाएका विषयहरूले नीति निर्माण तहसम्म बहस पुग्ला कि भन्ने आसले हामीले सुरु गरेको चाहिं हो, ‘उनले भने।

मौलिक कला संस्कृति र संस्कारमा रमाउने जनजातिमाथि एकात्मक राज्य व्यवस्थाले निर्माण गरेको कानुनको विभेद र अन्यायलाई नाटकमा सरल ढंगबाट प्रस्तुत गरिएको बताउँछन् बुद्धि। ‘आदिवासी जनजातिको जीवन जल जमिन जंगलसँग अत्यन्तै नजिक छ। तर राज्यले यी तिनै चिजबाट वञ्चित गरायो,’ उनले भने, ‘हाम्रो अधिकार हामीबाट खोसेको राज्य सत्तालाई र समाजलाई सचेत गराउने प्रयास हो।’

काभ्रेको तिमालमा जन्मेका बुद्धि तामाङ आफैंमा एक मजदुर थिए। इँटाभट्टीमा दैनिक काम गर्थे। इँटाको आकार-प्रकारमा ध्यान दिनुपर्थ्याे। र हिजोको समयमा उनले गरेको दुःख भोग्नेहरू अझै तमाम छन्।

एसएलसी दिएर काठमाडौंंमा आए बुद्धि। काम खोजेर भौंतारिए र केही महिना बिना जागिर काठमाडौंमै हल्लिए। काम ठूलो सानो हुँदैन भन्ने लागेपछि इँटाभट्टीमा काम गरे। इँटा बनाए। पेस्की मिल्थ्यो काम चल्थ्यो। इँटा बनाउँदै रेडियो पनि सुन्थे। रेडियो नाटक अनि साहित्यिक कार्यक्रम खुब सुन्थे। करिब दुई वर्ष उनले रेडियाे सुन्दै इँटा बनाए। त्यसपछि उनले इँटाभट्टीकाे काम छाडी बदाम बेच्ने काम गरे। बरफको व्यापार गरे। न त जीवन उकासियो, न खुसी हुन सके। जागिर खोज्दै उनी रेष्टुरेन्टमा पनि काम गरे।

करिब एक वर्षको अवधिमा भाँडा माझ्नेदेखि होटलको मेनेजरसम्म भएका थिए बुद्धि। तर, त्यहाँ पनि ‘ह्वाट नेक्स्ट’ ले खेदाउन छाडेन उनलाई।

यसरी अनेक घुम्ती पार गर्दै गर्दै बुद्धि डबली नाटक खेल्न पुगे। डबली नाटक करिअरकै पुल बनेर आए झैं भयो उनलाई। कताकता उनी मण्डला नाटकघरको एक सदस्य हुन पुगे। नाटक ‘चरनदास’ मा प्राविधिक काम सम्हाले। यसरी उनी रंगमञ्चको स्टेज सजाउन पोख्त हुँदै गए। उनी भन्छन्, ‘अनामनगरको मण्डलामा प्राविधिक सिकें। थापागाउँस्थित मण्डला थिएटरको भने टेक्निकल डिपार्ट अहिले पनि सम्हालेकाे छु।’

इँटाभट्टीमा काम गर्दा साहुले पैसा नदिँदा बुद्धिले पाखुरा नै सुर्काउनु परेको थियो। अहिले चलचित्रमा अभिनयको क्रममा पैसा नदिने पनि थुप्रै छन्। तर उनले किचकिच गरेका छैनन्। जे-जति दिन्छन् थाप्छन्। तर काम छोड्दैनन्। रेडियो नाटक, लघुफिल्म, म्युजिक भिडियो, चलचित्र र रंगमञ्चमा भ्याइनभ्याइ छ उनलाई।

फिल्ममा धेरै पैसा पाउँदापाउँदै पनि बुद्धि रंगमञ्चमा फर्किरहन्छन्। किनकि उनका अनुसार पैसा मात्रै सबथोक होइन। उनी भन्छन्, ‘पैसा केही हो, सबैथोक होइन। र म खुसी खोज्न रंगमञ्च फर्किरहन्छु। जानेको पहिलो काम सकेसम्म बिर्सिन सकिन्न।’

अनामनगरमा मण्डलाघर हुँदा निकै दुःख थियो। जीवन उकास्न पनि धौधौ थियाे बुद्धिलाई। ब्याक स्टेजमा काम गर्नेको कमाइ पनि गन्नै नपर्ने खालको हुँदोरहेछ। त्यो संघर्षलाई थापा गाउँको हाइटमा उकाल्नुलाई पनि एक खालको सफलता मान्छन्। उनी भन्छन्, ‘डबली नाटकबाट यात्रा सुरु गरें। करिब १८ वर्ष यो क्षेत्रमा बिताइसकेँ। जीवन यहीं होमियो। र नाटक महंगाे शोख भएकाले रहेछ, त्यसैले नाटकमा काम गर्न दुई-चार जुनी चाहिन्छ कि जस्तो लाग्छ अचेल।’

अहिले पनि आफूलाई मजदुरै ठान्ने बुद्धि इँटाभट्टीमा गर्ने काम र अहिले गरिरहेकाे‍ काममा खासै अन्तर देख्दैनन्- इँटाभट्टीमा भन्दा केही सजिलो र सुकिलोचाहिं देख्छन् आजको काम।

‘एकचोटि इँटा नापे पुग्थ्यो, अहिले पाँचचोटि नाप्नुपर्छ, ट्युबलाइटजस्तो। यसैमा जीवन खर्चिएँ। त्यतिखेर त्यो काम नगरेको भए यहाँ हुन्थिनँ भन्ने लाग्छ। त्यहाँ थोरैको माया पाउँथे, यहाँ धेरैको माया पाइरहेको छु। ओहो! मैले त भन्न पो जानिनँ कि क्या हो हाहाहाऽ,’ उनले भने।

बोल्दाबोल्दै हँसाइरहनु पर्छ बुद्धिलाई। बेलाबेला जोकको पिटारा निकाल्छन् र मस्त हाँसिदिन्छन्। कहिले भने गम्भीर भइदिन्छन्। सानैदेखि चकचके भए पनि उनी अहिले गम्भीर छन्। दुई दिदी र दुई बहिनीबीच सन्तान अर्थात् दाइ पनि भाइ पनि भएर हुर्किएका उनी बाल्यकालमा सिन्को भाँच्दैनथे।

खेलेरै बाल्यकाल बिताइदिए। दैनिकी ठूलोबाको छोरोसँग डुलेर जान्थ्यो, जो रामायण पढ्थ्यो। उनैले रामायण पढेर सुनाउने गरेको सम्झिन्छन् बुद्धि। त्यसैले उनी कर्ममा विश्वास गर्छन्। भन्छन्,  ‘गीतामा काम गर, फलको आस नगर’ भने पनि म काम पनि गर्ने र फलको पनि आस राख्ने प्राणी हुँ।’

काम गर्दै जाँदा सफलता अचानक आउँछ। थाहै नपाई ‘क्लिक’ हुने हो मान्छे। बुद्धिका लागि काम र मेहनतका कारण अवसर पछ्याए पनि भाग्यले पनि साथ दिन जरुरी ठान्छन्। उनी भन्छन्, ‘भाग्यलाई साथ दिने खालको मेहनत गर्न पछि हट्नु हुँदैन भन्ने हो।’ यही भाग्यले साथ दिएरै होला, कला क्षेत्रमा लागेर कमाएको पैसामा केही ऋण थपेर घर किने। रोगी आमालाई उपचार गरेर सन्चो बनाए र सहरमा राखेका छन्। शारीरिक असक्तताका कारण आमालाई उपचार गर्न काठमाडौं ल्याइरहनु पर्ने झन्झट नभएकाे उनी सुनाउँछन्,  ‘आमा सत्तरी कटिसक्नु भयो। शरीर रोगी छ। बिरामी भइरहनुहुन्छ। उपचार गर्न काभ्रेबाट कति बोक्ने? यहाँ डेरामा राखेर उपचार गर्छु भनेको त आमाले डेरामा बस्ने रोगीलाई त घरबेटीले निकालिदिन्छन् भन्नुभयो। मन कटक्क खायो। अलिअलि कमाएको पैसामा अलिअलि ऋण जोडेर घर किनें। लालपुर्जा लगेर देखाएको त आमाले पत्याउनु नै भएन। पछि सम्झाएँ। बुझाएँ। पत्याउनु भयो। अब म सहरमा एक्लो छैन।’

यो सफलता रंगमञ्चले दिएको भन्न हिचकिचाउँदैनन् बुद्धि। तर उनको रंगमञ्चको यात्रालाई अझै फराकिलो र विस्तृत बनाइदियो चलचित्रले। पहिलो चलचित्र ‘साँघुरो’ मा लाइट डिजाइनरको रूपमा काम गरेका थिए उनले। तर यति धेरै फिल्म खेल्छु भनेर कहिल्यै सोंचेका थिएनन् उनले।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ मा पहिलोपटक अभिनय गरे, जसबाट यत्तिको चर्चा बटुलौंला भनी सोंचेका थिएनन् उनले। वर्षाैंदेखि लाइट बोक्ने, मञ्च सजाउने प्राविधिक बुद्धिलाई एकाएक कलाकारमा स्थापित गर्न सकेको कबड्डी नै हो। कबड्डीका निर्माताले भनेको उनी सम्झिन्छन्- ‘तपाईं त मुस्ताङको जस्तो लागेको थियो तर थिएटर आर्टिस्ट पो हुनुहुँदोरहेछ। मिलेर काम गरौं भन्नु भयो। मैले पनि हुन्छ भनेँ। धेरै भागेको थिएँ, अब चाहिं काम गरौं भन्ने भयो र सुरु गरें। छनक चाहिं थिएन।

त्यसपछि दयाहाङ राई, विजय बराल र बुद्धि तामाङ त्रिमूर्ति झैं उदाए। प्राय: फिल्ममा यी तीन कलाकार एकसाथ कुनै न कुनै भूमिकामा देखिन्छन्।

जीवनका सबै घुम्तीमा सधैं सफलता भेटिँदैन। तर जहाँ र जतिखेर भेटिन्छ अनि जिन्दगीले नयाँ मोड लिन्छ, अपत्यारिलो स्वादका साथ। त्यसैले बुद्धि आफ्नो सफलतालाई खुसीसँग जोड्छन्। बुद्धिका अनुसार लक्ष्य छिनछिनमा बदलिन सक्छ तर काम गर्न मुड बदिलनु हुँदैन। थाक्नु हुँदैन। काम गर्दै जाने हो। त्यसैले त उनलाई चिन्नेहरूले बुद्धि तामाङ उर्फ हनुमान भन्दैनन् बरु भन्छन् कबड्डीका हैट! अर्थात बुद्धि तामाङ उर्फ हैट!

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्