पहिलो टेस्टमा दक्षिण अफ्रिकामाथि न्युजिल्यान्डको फराकिलो जित

न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट २ सय ८१ रनले जितेको छ। जितसँगै दुई खेलको टेस्ट सिरिजमा न्युजिल्यान्ड १-० ले अघि रह्यो।

यु दुईबीचको दोस्रो टेस्ट १३ फेब्रुअरी मा सुरु हुनेछ। घरेलु टोलीले माउन्ट मउनगनुइमा भएको खेलमा पहिलो इनिङमा ५ सय ११ रन बनाएको थियो। जवाफमा पहिलो इनिङमा दक्षिण अफ्रिका १ सय ६२ रनमै समेटियो।

दोस्रो इनिङमा न्युजिल्यान्डले ४ विकेट गुमाएर १ सय ७९ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। त्यसपछि जितका लागि ५ सय २९ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका दोस्रो इनिङमा २ सय ४७ रनमा अलआउट हुँदा न्युजिल्यान्डले २ सय ८१ रनको प्रभावशाली जित निकाल्यो।

त्यसअघि न्युजिल्यान्डले रचिन रवीन्द्रको दोहोरो शतकमा पहिलो इनिङमा नै विशाल स्कोर बनाएको थियो। रवीन्द्रले २ सय ४० रन बनाउँदा केन विलियमसनले १ सय १८ रन बनाएका थिए। त्यस्तै ग्लेन फिलिप्सले ३९ तथा ड्यारल मिचेलले ३४ रन बनाएका थिए।

जवाफमा दक्षिण अफ्रिकाका लागि किगन पिटरसनले ४५ रन बनाउनु सर्वाधिक रह्यो। दक्षिण अफ्रिकालाई पहिलो इनिङमा सस्तैमा समेट्न म्याट हेनरी र मिचेल स्यान्टनरले ३-३ विकेट लिँदा क्याली जेमिनसन र रचिन रवीन्द्रले २-२ विकेट लिए।

दोस्रो इनिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डका लागि केन विलियमसनले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए। जवाफमा दोस्रो इनिङमा दक्षिण अफ्रिकाका लागि डेभिड बेन्डीङघमले ८७ रन बनाउनु सर्वाधिक रह्यो।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्